दाङ । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले दाङका चार ओटा पालिकामा विद्युतीय सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्ने भएको छ ।
तुलसीपुर उपमहानगरपालिका, दङ्गीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका र बबई गाउँपालिकासँग समन्वय गरेर कार्यक्रम सञ्चालन गरिने तुलसीपुर वितरण केन्द्रका प्रमुख सुरेशकुमार महतोले जानकारी दिनुभयो । कार्यक्रम मङ्सिर ७ गतेदेखि सुरु हुने प्राधिकरणले जनाएको छ ।
पछिल्लो समय विद्युतीय दुर्घटना बढ्दै गएकोले त्यसबाट हुने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गर्न लागिएको प्रमुख महतोले रेडियो हाम्रो पहुँचलाई जानकारी दिनुभयो ।
पहिलो चरणमा प्रत्येक पालिकाका दुईवटा गरी आठवटा सामुदायिक विद्यालयमा कार्यक्रम सञ्चालन हुने वितरण केन्द्रले जनाएको छ । विद्यार्थी संख्या धेरै भएको सामुदायिक विद्यालयमा कार्यक्रम सञ्चालन हुने प्रमुख महतोको भनाई छ ।
विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय बासिन्दालाई लक्षित गरी विद्युतीय सुरक्षा सम्बन्धी जनचेतना कार्यक्रम गर्ने उद्देश्य राखिएको छ । उहाँका अनुसार प्राधिकरणका प्राविधिक कर्मचारीहरूले विद्यालयमा पुगेर विद्युतीय दुर्घटनाका कारण, जोखिम घटाउने उपाय, तथा दुर्घटना भइहालेमा अपनाउनुपर्ने तत्कालीन उपायका बारेमा प्रशिक्षण दिनेछन् ।
महतोले पहिलो चरणमा सञ्चालन गरिने यो कार्यक्रमलाई निरन्तरता दिँदै अन्य स्थानहरूमा पनि विस्तार गर्दै लैजाने योजना रहेको जानकारी दिनुभयो । उहाँले विद्युतीय सुरक्षा सम्बन्धी सचेतना फैलाउन सकिएमा अनावश्यक दुर्घटनाहरू घट्ने र जनसुरक्षामा सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।












