दाङ । आन्तरिक राजश्व कार्यालय तुलसीपुरले आज सोमबार राष्ट्रिय कर दिवस मनाएको छ । नेपालमा आधुनिक र वैज्ञानिक कर प्रणालीका रूपमा प्रत्येक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउने गरिएको छ ।
बिगतका वर्षमा साताव्यापी रुपमा कार्यक्रम हुँदै आएकाोमा यस वर्ष भने जेनजी आन्दोलनका कारण देशभरका धेरै आन्तरिक राजश्व कार्यालयमा क्षति पुगेकाले विभागीय निर्देशनअनुसार तुलसीपुरमा शुभकामना आदान–प्रदान तथा करदाता सम्मान कार्यक्रम मात्र गरेकोे कार्यालयले जनाएको छ ।

कर दिवसको अवसरमा कार्यालयको कार्यक्षेत्र भित्रका करदाताहरुमध्ये आर्थिक वर्ष २०८०/८१ मा आयकरतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडलाई सम्मान गरेको छ । सो संस्थाले आयकरतर्फ ३ करोड ७६ लाख ६५ हजार ८१८ कर बुझाएर यस क्षेत्रको सर्वोच्च करदाता बनेको कार्यालयले जनाएको छ ।
गत भदौ २४ मा जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी, तोडफोड र लुटपाट भएको थियो । घटनापछि उद्योगी–व्यवसायी र करदाताले कार्यालयको आफ्नै भवनबाट सेवा लिन नसक्ने अवस्था बनेको कार्यालय प्रमुखले श्रीधर टण्डनले जानकारी दिनुभयो ।
कार्यालयमा भएको क्षतिलाई मर्मत सम्भव नदेखिएकोले हाल त्रिसिद्धेश्वरी मन्दिरको भवन भाडामा लिएर कार्तिक १७ गतेदेखि सेवा प्रवाह सुरु गरिएको उहाँले बताउनुभयो ।
















