दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवामा रहेको सगरमाथा सेकेण्डरी स्कुलमा ‘फायर क्याम्प’ गरिएको छ । सगरमाथा स्काउटका विद्यार्थीहरूले शनिबार साँझ ‘फायर क्याम्प’ गरेका हुन् ।

विद्यालयको तीन दिने कार्यक्रम अन्तर्गत शनिबार साँझ ‘फायर क्याम्प’ गरिएको सगरमाथा स्काउट टु्रपका क्याम्प संरक्षक तथा प्रधानाध्यापक छविकुमार वलीले बताउनुभयो । उहाँले विद्यार्थीको सामाजिक तथा नेतृत्व विकासका लागि स्काउटले तीन दिने क्याम्प गरेको बताउनुभयो । कार्यक्रमबाट विद्यार्थीको शारीरिक र मानसिक रूपमा विकास हुने र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई छ ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होम पराजुलीले अपराधिक क्रियाकलपामा बालबालिका समेत संलग्न भइरहेको अवस्थामा विद्यार्थीलाई अनुशासित बनाउन र नेतृत्व विकासका लागि विद्यालयले गरेको कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले विद्यार्थीलाई सधैँ सहि बाटोमा लाग्न आग्रह गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक छविकुमार वलीको अध्यक्षता तथा डिएसपी पराजुलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । क्याम्पका प्रमुख प्रशिक्षक अमृत बिकले विद्यालयले तीन दिन दुई रातको कार्यक्रम गरेको बताउनुभयो । क्याम्पमा ३७ जना विद्यार्थी सहभागी छन् ।
कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष यमकान्त खरेल, कारागार कार्यालय तुलसीपुरका सुरक्षा प्रमुख टेकराज पोखरेल लगायतको सहभागीता रहेको थियो । विद्यालयका सहायक प्रधानाध्यापक केशर सिं बुढाथोकीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण शिक्षक अन्जली शाहले गर्नुभएको हो ।















