तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–५ पातुखोला किनारमा सञ्चालन भइरहेको तरकारी बिक्री केन्द्रमा सार्वजनिक शौचालय नहुँदा व्यापारी र ग्राहक समस्यामा परेका छन् ।
स्थानीय सरकारले शौचालयको व्यवस्था नगर्दा धेरैजसो व्यापारी र किनमेलका लागि पुग्ने ग्राहकहरू पातुखोला किनारमै शौच गर्न बाध्य भएका हुन् । स्थानिय सरकारले सार्वजनिक शौचालयको व्यवस्था नगर्दा खोला किनारमै शौच गर्नु परेको ब्यापारी कल्पना ओली रावतले बताउनुभयो ।

खोला किनारमा बसेर तरकारी बिक्रि गर्न निकै समस्या रहेको अर्का व्यापारी प्रकाश खरेलले बताउनुभयो । उहाँले खोलाको नजिक भएकाले फोहोर धेरै हुने गरेको बताउनुभयो । पालिकाले फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा आफुहरु फोहोरमै तरकारी बेच्नु परेको उहाँले गुनासो गर्नुभयो । व्यापारीको लागि थप टहराको व्यवस्था भएमा सहज हुने उहाँको भनाई छ ।
यसैबिच घरेलु उद्योग महासंघ तुलसीपुरले सो क्षेत्रमा सार्वजनिक शौचालय र थप टहरा निर्माण गर्ने घोषणा गरेको छ । स्थानिय सरकारसंग समन्वय गरेर शौचालय र आवश्यक थप टहरा निर्माण गर्ने संघका अध्यक्ष लालबहादुर केसीले जानकारी दिनुभयो ।
आज सोमबार संघका अध्यक्ष केसीसहित महासचिव भद्रबहादुर ओली, नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष ओपेन्द्र बस्नेतसहित अनुगमणमा पुगेको टोलीले त्यहाँको समस्या बारे व्यापारीहरुसंग बुझेको थियो । ब्यापारीहरुले सार्वजनिक शौचालय र थप टहराको समस्या रहेको बताएका थिए ।

ब्यापारीहरुको समस्या सुनेपछि संघका अध्यक्ष केसीले आगामी पुस ४ गतेदेखि तुलसीपुरमा सञ्चालन हुन लागेको प्रथम तुलसीपुर महोत्सवबाट संकलित केही रकमले सार्वजनिक शौचालय र थप टहरा निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो ।














