दाङ । हिंसा विरुद्धको अभियानमा सहयोग पुर्याउन तुलसीपुरमा महतवालाई सचेतना कार्यक्रम गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको महिला, बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा मंगलबार ९ वटा वडाका महतवाको लागि क्षमता विकास कार्यक्रम गरिएको हो ।
समाजमा हुने विभिन्न प्रकारका हिंसात्मक घटना न्युनिकरणका टोलका अगुवा महतवालाई प्रशिक्षण गरिएको महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार मंगलबार २, ४, ६, ८, १०, १२, १४, १६ र १८ नम्बर वडाका महतवालाई प्रशिक्षण गरिएको छ ।
महतवा थारु समुदायका अगुवा व्यक्तिहरु हुन् । उनीहरुलाई मिलापत्र गराउन हुने र नहुने मुद्धाहरु, कानुनी प्रक्रिया, प्रहरीसंगको समन्वय लगायतका बारेमा प्रशिक्षण गरिएको छ ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका न्यायिक समितिका संयोजक स्यानी चौधरीले हिंसामुक्त समाज निर्माणका लागि सबै शिक्षित बन्नुपर्ने बताउनुभयो । समाजमा नकारात्मकता फैलिदा पनि हिंसाका घटना हुने गरेको उहाँको भनाई छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होम बहादुर पराजुलीले समाजमा विषेशगरी १८ देखि ४० वर्षका महिला बढी हिंसामा पर्ने गरेको बताउनुभयो । उहााले दाङको करिब आधा अपराधका घटना तुलसीपुरमा हुने गरेको बताउनुभयो ।
उहाँले पछिल्लो समय अवैध बाटो हुँदै अमेरिका जाने प्रचलन बढ्दै गएका कारण तुलसीपुरमा लेनदेनका मुद्दाहरू पनि बढ्न थालेको बताउनुभयो । उहाँले परिवार र आफन्तबाटै बढी हिंसाका घटना हुने गरेको बताउनुभयो । डिएसपी पराजुलीले अपराधका घटना भइसकेको लामो समयसम्म पनि प्रहरीमा जाहेरी नआउने गरेको र यसले प्रहरीलाई पनि अनुसन्धनानमा समस्या हुने गरेको बताउनुभयो ।
यस्तै नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष दुर्गालाल केसीले अशिक्षा, आर्थिक अभाव, शारिरिकरुपमा कमजोर हुने व्यक्ति नै हिंसामा पर्ने गरेको बताउनुभयो । उहाँले समाजमा पछिल्लो समय लिंगका आधारमा भन्दा पनि शक्तिको आडमा कमजोर व्यक्ति हिंसामा पर्ने गरेको बताउनुभयो । बुधबार ५, ७, ९, ११,१३, १५, १७, १९ नम्बर वडाका महतवालाई प्रशिक्षण कार्यक्रम राखिएको छ ।














