दाङ । तुलसीपुरमा संचालन हुन लागेको ‘प्रथम तुलसीपुर महोत्सव’ मा किसानले ५० वटा स्टल निशुल्क पाउने भएका छन् । महोत्सव आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले कृषिजन्य वस्तु बिक्रि वितरण र प्रवद्र्धनका लागि किसानलाई स्टल निशुल्क उपलब्ध गराउने भएको हो । महोत्सवमा कृषिजन्य वस्तुको बिक्रि वितरणलाई प्राथमिकता दिइने महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले बताउनुभयो ।
साढे चार सय स्टलमध्ये ५० वटा स्टल स्थानीय कृषकले उत्पादन गरेका सामाग्री प्रवद्र्धनका लागि निःशुल्क पाउने भएका हुन् । यस्तै स्टलमार्फत बढी वस्तु बिक्री–वितरण गर्ने कृषक समूहलाई पुरस्कार प्रदान गरिने व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ ।
स्थानीय उत्पादन प्रवद्र्धनका लागि विभिन्न संघ–संस्थासँग समन्वय भइरहेको पनि उहाँले जानकारी दिनुभयो । महोत्सवमा महिला उद्यमीले उत्पादन गरेका हस्तकलाका सामग्री प्रदर्शनी गरिनेछ । विशेषगरी तुलसीपुर उपमहानगरपालिका भित्रका कृषिजन्य उपज र हस्तकलाका सामग्रीलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ ।
महासंघका अनुसार महोत्सव पुस ४ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा करिब साढे चार सय स्टल रहनेछन् । महोत्सवको तयारी करिब अन्तिम चरणमा पुगेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले आइतबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत महोत्सवको तयारी करिब ८० प्रतिशत सम्पन्न भइसकेको जानकारी दिएको हो ।
संयोजक केसीले हालसम्म एक सयभन्दा बढी स्टलहरु स्थानीय व्यवसायीले बुकिङ गरिसकेको जानकारी दिनुभयो । यसैगरी महोत्सवमा नेपालमै पहिलो पटक ‘युवा उद्यम नयाँ प्रवद्र्धन छनोट प्रतियोगिता’ आयोजना गरिनेछ । युवाहरूलाई आफ्नो व्यवसायिक ज्ञान र सीप प्रतिस्पर्धामार्फत प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्य रहेको आयोजकको भनाइ छ ।
महोत्सव व्यवस्थापनका लागि २५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिअन्तर्गत २७ वटा उपसमिति बनाई कार्यविभाजन गरिएको छ । मूल्यांकन उपसमितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष सञ्जीप पौडेल, सांस्कृतिक उपसमितिमा टिकाजंग वली, सचिवालय व्यवस्थापन उपसमितिमा महासचिव भद्रबहादुर वली र प्रचार–प्रसार संयोजकमा तिलकराज योगी रहनुभएको छ ।
पत्रकार सम्मेलनको सहजीकरण महासचिव भद्रबहादुर वलीले गर्नुभएको हो ।














