२०८२ माघ ७ गते बुधवार

शिक्षामा समानताको माग गर्दै तुलसीपुरका चोक–चोकमा युवा अभियन्ताको सचेतना अभियान


तुलसीपुर । शिक्षामा समानता हुनुपर्ने मागसहित तुलसीपुरका विभिन्न चोकमा युवा अभियन्ताहरूले निरन्तर सचेतना अभियान सञ्चालन गरिरहेका छन् । तुलसीपुरको वीरेन्द्रचोक, जेसिज चोक र गुम्राह चोकमा उभिएर विगत २६ दिनदेखि अभियान चलिरहेको युवा अभियन्ता नरेश कार्कीले जानकारी दिनुभयो ।

तुलसीपुर बजारका ती तीनवटै चोकमा दैनिक बेलुका ३ बजेदेखि ५ बजेसम्म अभियन्ताहरू विभिन्न नारा लेखिएका प्लेकार्ड हातमा उचालेर उभिने गरेका छन् । प्लेकार्डमा ‘नेता होस् वा मजदुर, सबैका लागि एउटै स्कूल’, ‘नेता ज्यू, तिम्राले पढ्ने स्कुल र हाम्राले पढ्ने विद्यालय किन एउटै हुन सक्दैन ?’ जस्ता सन्देश लेखिएका छन् ।

सामुदायिक विद्यालयको अवस्था अनुगमन गर्दा अत्यन्तै दयनीय देखिएको भन्दै अभियन्ता कार्कीले अब शिक्षाको सवालमा आम नागरिक स्वयं जागरुक हुनुपर्ने बेला आएको बताउनुभयो । सामुदायिक विद्यालयको स्तरोन्नति गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले अभियान सुरु गरिएको उहाँको भनाइ छ ।

अहिले अधिकांश नेताका छोराछोरी निजी विद्यालयमा अध्ययन गर्ने गरेको उल्लेख गर्दै कार्कीले गरिब तथा मध्यम वर्गका बालबालिकाले पढ्ने सामुदायिक विद्यालयप्रति नेतृत्व वर्गको चासो कम देखिएको बताउनुभयो ।

सामुदायिक विद्यालय सुधारका लागि सरकारी सेवा सुविधा लिने शिक्षक र कर्मचारीहरूले आफ्ना सन्तान सामुदायिक विद्यालयमै पढाउनुपर्ने उहाँको जोड छ । तर, शिक्षक र कर्मचारीभन्दा पहिला नेताका छोराछोरी सामुदायिक विद्यालयमा पढ्ने वातावरण बनाउन जरुरी रहेको भन्दै, नेताहरूलाई हरेक पटक ‘तपाईँका छोराछोरी कहाँ पढ्छन् ?’ भन्ने प्रश्न गरिनुपर्ने अभियन्ता कार्कीले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस