२०८२ माघ २५ गते आइतवार

लुम्बिनीमा अवैध हतियारको त्रास


दाङ । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पछिल्ला दिनमा अवैध साना हतियारको प्रयोग बढ्दै गएको छ । पछिल्ला केहि दिनमा गोली प्रहारका घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । प्रहरीले विभिन्न स्थानबाट हतियारसहित केही व्यक्तिहरूलाई पक्राउ गरेको छ ।

खुला सीमानाकाका कारण भारतबाट हतियार भित्रिने क्रम बढेको र यसले सामाजिक सुरक्षा तथा निर्वाचनमा चुनौती थपिएको प्रहरीको भनाइ छ । बर्दियाको राजापुर नगरपालिका–४ मा रहेको हमार थारु रेस्टुरेन्टमा गत आइतबार भएको गोली प्रहारबाट दाङ तुलसीपुर उपमहानगरपालिका–५ का २८ वर्षीय निरज चौधरीको मृत्यु भएको थियो ।

राजापुर नगरपालिका–४ स्थित कुखुरा फर्ममा काम गर्ने निरजलाई गोली प्रहार गरेको आरोपमा दाङ तुलसीपुर उपमहानगरपालिका–६ का ५१ वर्षीय महावीर चौधरीलाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ ।

दाङको लमहीमा होटलमा लुकाई राखेको पेस्तोल पड्किएर शनिबार एक जना घाइते भएका छन् । लमहीको रातो डाँडास्थित रोयल प्यालेस होटलमा लुकाइ राखिएको पेस्तोल पड्किएर होटलका कामदार १८ वर्षीय शिशम गौतम घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले बताउनुभयो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले उपलब्ध गराएको घटना विवरणले पछिल्ला दिनमा लुम्बिनी प्रदेशका तराईका जिल्लामा साना हतियारको प्रयोग बढ्दो देखिएको छ । अवैध साना हतियारको प्रयोग र त्यसबाट सिर्जित त्रासले सामाजिक असरसँगै नजिकिँदो प्रतिनिधि सभाको निर्वाचनलाई पनि असर पार्ने देखिन्छ । निर्वाचनका लागि पनि साना हतियारले चुनौती थपिरहेको छ ।

साना हतियार, कारागारबाट फरार कैदीबन्दीको त्रासले पनि चुनावी माहोलको चुनौती बढिरहेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले रूपन्देही, दाङ, बाँके, नवलपरासी र कपिलवस्तु जिल्लालाई सुरक्षा दृष्टिकोणले अति संवेदनशील जिल्लाका रूपमा राखेको छ । पछिल्लो समय बर्दिया र दाङमा पनि अवाञ्छित गतिविधि बढ्दै गएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी राजेन्द्रप्रसाद भट्टले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस