दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि कानुन अस्वीकार्य हुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाको ३३औँ स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने गरि आउने कानुनको विरुद्धमा महासंघ लाग्ने बताउनुभएको हो ।
अहिलेपनि केन्द्र सरकारसँगै प्रदेश र स्थानीय तह गरि तीनै तहका सरकारमा कानुन निर्माणको प्रक्रिया जारी रहेकाले नीति निर्माणका क्रममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुने गरी कानुन बनिरहेको छ कि छैन भन्ने विषयमा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
प्रेस स्वतन्त्रताविरुद्ध जाने कानुनी प्रावधानहरू पत्रकारिता र लोकतन्त्र दुवैका लागि खतरनाक हुने भएकाले त्यसका विरुद्ध एकजुत हुन आवश्यक रहेको भन्दै कार्यक्रमका प्रमुख अतिथि शर्माले अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने प्रयास जहाँबाट भए पनि त्यसको प्रतिवाद गर्न पत्रकारहरू एकजुट हुन आवश्यक रहेको बताउनुभयो ।

देशका तीन तहका सरकारबाट कानुन निर्माणको काम भइरहेकाले यस्तो अवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रातालाई कुण्ठित गर्ने गरि कानुन आउन सक्ने भएकाले पत्रकार सचेत बन्नुपर्ने बताउनुभएको हो । पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएकाले पत्रकारितालाई कमजोर पार्ने प्रयासकाविरुद्ध पत्रकार एकजुट भएर बोल्नुपर्ने उहाँको भनाई छ ।
त्यसैगरी संविधान जोगाउन समयमै निर्वाचन आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष शर्माले त्यसका लागि वातावरण निर्माणमा पत्रकारहरूको भूमिका महत्वपूर्ण बताउनुभयो ।
सामाजिक सञ्जाल प्रयोग गर्दा समेत पत्रकारहरु सचेत हुनुपर्ने बताउनुभयो । सामाजिक सञ्जालमा आउने गलत सूचना र अफवाहका कारण समाजमा भ्रम फैलिन सक्ने भएकाले पत्रकारले सत्य, तथ्यपरक र विश्वसनीय सूचना प्रवाहका लागि जिम्मेवार भएर आफ्नो पेसा गर्नुपर्ने बताउनुभयोे । सही सूचना प्रवाहमार्फत नागरिकलाई सत्य जानकारी दिनु पत्रकारको दायित्व भएको उल्लेख गर्दै अध्यक्ष शर्माले जिम्मेवार पत्रकारिताबाटै प्रेसप्रति जनविश्वास मजबुत हुने धारणा व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सचिव जेएन सागरले गर्नुभएको हो ।














