तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको पशु सेवा शाखाले आज (मंगलबार)देखि निःशुल्क कृत्रिम गर्भाधान सेवा सुरु गरेको छ । तुलसीपुर–१२ हरिपौराका किसान धनबहादुर बस्नेतको घरमा रहेको भैंसीलाई कृत्रिम गर्भाधान सेवा प्रदान गरेर कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दे नगर प्रमुख टिकाराम खड्काले सरकारकोे लगानी वास्तविक किसानसम्म नपुग्ने,पहुँचवाला तथा विचौलियाको हातमा सीमित हुने प्रवृत्ति अझै कायम रहेको भन्दै वास्तविक किसानका लागि पालिकाले यो कार्यक्रम ल्याएको बताउनुभयो । उहाँले राज्यले उपलब्ध गराउने अनुदान कागजी प्रक्रियामा गर्व गर्ने विषय मात्र नभई त्यसलाई व्यवहारमा उतारेर किसानको जीवनस्तर सुधार्न सक्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले पशुपालन क्षेत्र किसानहरूको आम्दानी र आत्मनिर्भरता बढाउने महत्वपूर्ण आधार भएको बताउनुभयो । निःशुल्क कृत्रिम गर्भाधानजस्ता कार्यक्रमहरूले नश्ल सुधार, उत्पादन वृद्धि र लागत घटाउन ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले उपमहानगरपालिकाले ल्याएका किसानमुखी कार्यक्रमको सही सदुपयोग गर्न सबै किसानहरूलाई पशु सेवा शाखासँग प्रत्यक्ष जोडिन आग्रह समेत गर्नुभयो । तुलसीपुर उपमहानगरपालिका कृषि समितिका संयोजक तथा वडा नम्वर १५ का अध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षता तथा नगर प्रमुख खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा तुलसीपुर–१२ का अध्यक्ष खुशीराम चौधरीले निःशुल्का कृत्रिम गर्भाधान सेवा किसानहरूको पहुँचमा सहज रूपमा पुगेको कार्यक्रम भएको बताउनुभयो । उहाँले यस्ता किसानमुखी कार्यक्रमले स्थानीय किसानको समस्या समाधान गर्न सहयोग पुग्ने उल्लेख गर्दै उपमहानगरपालिकाले सञ्चालन गरेको निःशुल्क कृत्रिम गर्भाधान सेवा पशुपालक किसानका लागि अत्यन्तै उपयोगी भएको धारणा राख्नुभयो ।
कार्यक्रममा राष्ट्रिय पशुपालन तथा दुग्ध उत्पादक समाजका अध्यक्ष शशिराम बुढाथोकीले सरकारले कृषि बिमामा अनुदान र रासायनिक मलमा ध्यान दिए पनि पशुपालन क्षेत्रका यस्ता व्यवहारिक पक्षमा पर्याप्त ध्यान नपुगेको टिप्पणी गर्नुभयो । उहाँले कतिपय अन्य क्षेत्रका अनुदान किसानसम्म प्रत्यक्ष रूपमा पुग्न नसकेको उल्लेख गर्नुभयो ।
उपमहानगरपालिकाले सुरु गरेको निःशुल्क कृत्रिम गर्भाधान कार्यक्रमलाई किसानमुखी अनुदानको राम्रो उदाहरण भएको बताउनुभयो । गाई तथा भैंसी पालन गर्ने वास्तविक किसानले मात्र यो सेवाबाट लाभ लिन सक्ने भएकाले कार्यक्रम उपयुक्त र प्रभावकारी रहेको धारणा राख्नुभयो ।
पशु सेवा शाखा प्रमुख डाक्टर मनोज वलीका अनुसार पालिकाको वार्षिक कार्यक्रम अनुसार उपमहानगरपालिका भित्रका १९ वटै वडामा किसानहरूले पालेका गाई र भैँसीका लागि निःशुल्क कृत्रिम गर्भाधान सेवा सञ्चालन गरिएको हो ।
यसअघि कृत्रिम गर्भाधान सेवाका लागि शाखाले आवश्यक सिमेन र नाइट्रोजन उपलब्ध गराएर कृत्रिम गर्भाधानकर्तामार्फत किसानहरुलार्य सहजिकरण गराउदै आएको थियो । चालु आर्थिक वर्षदेखि पूर्ण रूपमा निःशुल्क कृत्रिम गर्भाधान सेवा उपलब्ध गराउन सुरु गरेको छ ।
कृत्रिम गर्भाधान सेवाका लागि उपमहानगरपालिकाले ४ जना कृत्रिम गर्भाधानकर्ता छनोट गरेको छ । गाई वा भैंसीले साँढे खोजेको लक्षण देखिएमा किसानहरूले पशु सेवा शाखामा सम्पर्क गर्न वा सिधै कृत्रिम गर्भाधानकर्तासँग सम्पर्क गरेर सेवा लिन सक्नेछन् ।
एक आर्थिक वर्षमा एक पटक एउटै गाई वा भैंसीका लागि यो सेवा उपलब्ध गराइने छ । साथै, सार्वजनिक बिदाको समयमा पनि किसानहरूले आवश्यक परेमा सेवा लिन सक्ने व्यवस्था गरिएको पशु सेवा शाखाले जनाएको छ । कार्यक्रमको सहजिकरण पशु सेवा शाखा अधिकृत सुनिता शर्माले गर्नुभएको हो ।















