दाङ । तुलसीपुर उपमहानगरपालिकाले १६ किलोमिटर बढी सडक कालोपत्रे गरेको छ । तुलसीपुर–८ को अश्वारास्थित मेट्रो अस्पतालमा आयोजना गरिएको आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा कार्यक्रममा प्रशासन तथा जनशक्ति शाखाका प्रशासकीय अधिकृत लेखनाथ आचार्यले नगर तथा वडा स्तरका योजनामार्फत १६ दशमलव ३८ किलोमिटर सडक कालोपत्रे गरिएको जानकारी दिनुभयो ।
सडक पुर्वाधारतर्फ ४८ किलोमिटरभन्दा बढी सडक निर्माण, कालोपत्रे, ग्राभेल तथा मर्मत कार्य सम्पन्न गरेको आचार्यले जानकारी दिनुभयो । उपमहानगरपालिकाले सार्वजनिक गरेको प्रगति विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ मा बिग्रिएका तथा जीर्ण सडकलाई लक्षित गरी १ दशमलव ८ किलोमिटर कालोपत्रे सडक मर्मत गरिएको छ ।
यस्तै २९ दशमलव ९२ किलोमिटर सडक ग्राभेल तथा मर्मत गरिएको छ । यस्तै २ दशमलव १५ किलोमिटर पक्की नाला निर्माण कार्य सम्पन्न भएको पालिकाले जनाएको छ ।















