२०८२ माघ २५ गते आइतवार

तुलसीपुर उपमहानगरको सार्वजनिक सुनुवाइ : भौतिक विकाससँगै सेवा सुधारको माग


दाङ । तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय नागरिकहरूले भौतिक विकासलाई प्राथमिकतामा राख्दै सडक, कृषि, विद्युत्, शिक्षा र सेवा प्रवाहको गुणस्तर सुधार गर्नुपर्ने माग गरेका छन् ।

आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा तथा चालु आर्थिक वर्षको प्रथम त्रैमासिक समीक्षा कार्यक्रममा सहभागीहरूले विकासका काम मात्र होइन, तिनको दिगोपन, गुणस्तर र समान पहुँचका विषयमा पनि ध्यान दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा तुलसीपुर–८ का मेघराज पाण्डेले जग्गा खरिद–बिक्रीका क्रममा सडक भएको भनेर बिक्री गरिने तर पछि बाटो नै नहुँदा विवाद उत्पन्न हुने समस्या बढ्दै गएको बताउनुभयो । सहमतिका आधारमा सडक खोल्ने प्रक्रिया स्पष्ट नहुँदा भविष्यमा झनै विवाद बढ्ने भएकाले स्थानीय सरकारले यस विषयमा स्पष्ट नीति र निगरानी अपनाउनुपर्ने उहाँको सुझाव थियो ।

सार्वजनिक सुनुवाइमा सहभागीहरूले कृषि क्षेत्र र सडक क्षेत्र स्पष्ट रूपमा छुट्याइनुपर्ने, सडकको बीचमा रहेका विद्युतका पोल व्यवस्थित गर्नुपर्ने, साथै विद्यालयहरूमा विषयगत शिक्षकको अभाव तत्काल समाधान गरिनुपर्ने बताएका थिए ।

किसान शशिराम बुढाथोकीले पालिकाले कृषि क्षेत्रमा छुट्याइएको बजेट न्यून भएको गुनासो गर्दै किसान लक्षित प्रवद्र्धनात्मक कार्यक्रम विस्तार गर्न आग्रह गर्नुभयो । उहाँले सडक पूर्वाधारको गुणस्तरमा समेत प्रश्न उठाउँदै मुख्य सडक कच्ची रहँदा स्थानीयले धुलो र आवागमनको समस्या भोग्नुपरेको तर वन क्षेत्रभित्रका बाटो मात्रै कालोपत्रे गर्ने प्रवृत्ति समयसन्दर्भअनुकूल नभएको टिप्पणी गर्नुभयो । यसले नगर वासीमा विकासमा समानताको भावना नदेखिएको सन्देश जाने उहाँको भनाइ थियो ।

त्यस्तै स्थानीय यशोदा भण्डारीले विद्युत् पोल विस्तार नहुँदा दैनिक जीवनमा समस्या भइरहेको गुनासो गर्नुभयो। उहाँले पालिका र टोल विकास संस्थाबीच साझेदारीको अवधारणा भए पनि व्यवहारमा प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो । नीति निर्माण तथा योजना छलफलका क्रममा बस्नका लागि सामान्य टोल भवनसमेत नहुँदा सडकमै बसेर छलफल गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा अधिकांश सहभागीहरूले भौतिक पूर्वाधार विकाससँगै पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले सार्वजनिक सुनुवाइलाई केवल औपचारिकता नबनाई नागरिकका सुझावलाई योजना र बजेटमा प्रत्यक्ष समेट्न आग्रह गरे ।

नगर प्रमुख टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सुशासन समितिका संयोजक तथा तुलसीपुर–८ का वडा अध्यक्ष धर्मराज वलीले स्वागत मन्तव्य राख्नुभएके थियो ।

कार्यक्रममा वितेको आर्थिक वर्षको प्रगति समीक्षा प्रशासन तथा जनशक्ति शाखाका प्रशासकीय अधिकृत लेखनाथ आचार्यले र चालु आर्थिक वर्षको प्रथम त्रैमासिक प्रगति समीक्षा योजना शाखा प्रमुख रमा खड्काले प्रस्तुत गर्नुभएको हो ।

जनप्रतिनिधि, शाखा प्रमुख तथा सरोकारवालाहरूले नागरिकका प्रश्नमा जवाफ दिँदै आगामी दिनमा सुधारको प्रयास गरिने प्रतिबद्धता जनाएका थिए ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस