दाङ । तुलसीपुरमा माघ सांस्कृतिक कार्यक्रम हुने भएको छ । यही पुस २५ गते शुक्रबारका दिन कार्यक्रम हुने आयोजकले जनाएको हो ।
नमुना भुह्यारथान तुलसीपुर, थारु कल्याणकारिणी सभा क्षेत्र नंम्बर ३, मटावाँ महासंघ तुलसीपुर र थारु स्वास्थ्यकर्मी समाज दाङको संयुक्त आयोजनामा पुस २५ गते तुलसीपुरमा माघ सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
सांस्कृतिक कार्यक्रमबारे नमूना भुह्यारथान तुलसीपुरको प्रांगणमा आज मंगलबार छलफल भएको हो । छलफलमा माघलाई महोत्सवमा सीमित नगरी परम्परागत शैली, संस्कार र मौलिक पहिचानलाई प्राथमिकता दिएर मनाउनुपर्नेमा वक्ताहरूको जोड दिएका छन् ।
कार्यक्रममा डिजे प्रयोग नगरी गाउँकै मघौटा नाँच र ढुम्रु गीतलाई प्राथमिकता दिने निर्णय भएको नमुना भुह्यारथान तुलसीपुरका अध्यक्ष रामशरण चौधरीले जानकारी दिनुभयो । साथै कार्यक्रममा थारु संस्कार र संस्कृति अनुसारका वस्तु जस्तै खर्रा, परालको बेर्री, मालुको पातको दुना, माटोको भाडा लगाएतका सामाग्री प्रयोग गर्ने उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष चौधरीले विगतको भन्दा यस वर्षको माघ महोत्सव फरक ढंगले मनाउने जानकारी दिनुभयो । नमुना भुह्यारथानका अध्यक्ष रामशरण चौधरीको अध्यक्षतामा बसेको बैठकले कार्यक्रम सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरेको छ । मटवाँ, थारू अगुवा तथा सरोकारवालाहरूको उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।
।
थारु कल्याणकारिणीसभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरीले माघ पर्वले सामाजिक, सांस्कृतिक र आर्थिक महत्व बोकेकाले यसको मौलिकतामा ध्यान दिनुपर्ने बताउनुभयो । बैठकमा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य भुवन चौधरी, महटावा महासंघ तुलसीपुरका अध्यक्ष बुझौना चौधरी, थारु कल्यानकारीणी सभा क्षेत्र नम्बर ३ का अध्यक्ष मोहन थारु, थारु अगुवा लगाएतको सहभागिता रहेको थियो ।















