२०८२ फाल्गुन २६ गते मङ्गलवार

गोरखा मावि तुलसीपुरले मनायो १५ औँ वार्षिकोत्सव

दाङ । तुलसीपुरस्थित गोरखा माध्यामिक विद्यालयले आफ्नो १५ औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । शुक्रबार विद्यालय प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीच वार्षिकोत्सव कार्यक्रम भएको हो ।

गोरखा मावि तथा गोरखा ग्रुप दाङका अध्यक्ष विष्णुप्रसाद घर्तीमगरको अध्यक्षता तथा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

सभामुख घर्तीमगरले इमानदारिता र लगनशिलताले मात्रै उपलब्धि हासिल गर्न सकिने बताउनुभयो । उहाँले नेपालमा राज्यले लगानी गरेका संस्था डुब्नुमा कर्मचारीको इमान्दारिताको अभावले भएको बताउनुभयो ।

उहाँले नेपालको शैक्षिक विकासमा निजी क्षेत्रका विद्यालयहरूले पुर्‍याएको योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँले गोरखा स्कुलले दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । शिक्षा क्षेत्रमा गोरखा माध्यमिक विद्यालयले छुटै पहिचान बनाएको र आगामी दिनमा त्यसलाई अझै उचाईमा पुर्‍याउने उहाँले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक बिजयमान जी.एमले विद्यालयको प्रगति विवरण पेश गर्दै विद्यालयको उचाई बढ्नुमा अभिभावक, शिक्षक,विद्यार्थी लगायत सबैको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँका अनुसार विद्यालयमा हाल ३ हजार ४ सय बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । । उहाँले १५ वर्षको अन्तरालमा विद्यालयले हासिल गरेका शैक्षिक उपलब्धि र आगामी लक्ष्यका बारेमा समेत चर्चा गर्नुभयो ।

वार्षिकोत्सवको अवसरमा विज्ञान प्रदर्शनी र सांस्कृतिक रौनकतामा विद्यार्थीहरूले आफ्नो सिर्जनात्मक क्षमता प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले तयार पारेका विभिन्न विज्ञान सामग्रीहरूको प्रदर्शनी गरिएको थियो । जसलाई अवलोकनकर्ताहरूले निकै चासोका साथ हेरेका थिए ।

त्यसैगरी, कार्यक्रममा विद्यार्थीहरूले नेपालको मौलिक कला र संस्कृति झल्कने विभिन्न विधाका नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरू दिएका थिए । विद्यार्थीको प्रतिभाले समारोहलाई थप रोचक र उल्लासमय बनाएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, शिक्षाप्रेमी तथा स्थानीय तहका जनप्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस