२०८२ माघ ८ गते बिहिवार

तुलसीपुर–१३ को गिधनिया–मजघटुवा जोड्ने तुई सोतामा बक्स पुलको शिलान्यास


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–१३ गिधनिया–मजघटुवा जोड्ने तुई सोतामा बक्स पुलको शिलान्यास गरिएको छ । पुलको आज आइतबार एक कार्यक्रमको आयोजना गरी शिलान्यास गरिएको हो ।

वडा अध्यक्ष मोहनलाल पौडेलको अध्यक्षता तथा तुलसीपुर महानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा शिलान्यास गरिएको हो ।

पुलको शिलान्यास गर्दै प्रमुख अतिथी तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख खड्काले नागरिकको दैनिक जीवनसँग जोडिएका समस्यालाई प्राथमिकतामा राखेर पुल निर्माणका लागि बजेट विनियोजन गरिएको बताउनुभयो ।

पुल निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्न स्थानीयवासी, जनप्रतिनिधि र निर्माण पक्ष सबैको सहकार्य अपरिहार्य रहेको उहाँको भनाई छ । पुल निर्माणमा वडाबासी र सबैले मिलेर समयमा सम्पन्न गर्न सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

वडा अध्यक्ष पौडेलले पुल निर्माण भएपछि वर्षौंदेखि समस्या झेल्दै आएका १३ नम्बर बासीलाई अब सहजता हुने बताउनुभयो । उहाँले पुल निर्माण भएपछि वडाको साँसखुटी, सिमलखुटी, बराहाखुटी, रनियापुर, मजघटुवा, गिधनिया, अम्बापुर, दमार गाउँका बासीहरूलाई वडासम्म पुग्न सहज हुने बताउनुभयो । साथै बालबालिकाहरुलाई विद्यालयसम्म पुग्न र सुत्केरीहरुलाई स्वास्थ्य संस्थासम्म पुग्न सहयोग पुग्ने उहाँको भनाई छ ।

नागरिकहरु पुल नहुँदा खोलाका कारण दुःख झेल्दै आएका थिए । पुल बनेपछि वडाका करिब ५ हजार नागरिकहरु लाभान्वित हुनेछन् । पुल निर्माणपछि बालबालिकालाई विद्यालय जान सहज हुने, सुत्केरी महिलालाई स्वास्थ्य संस्थासम्म पुग्न सुरक्षित बाटो उपलब्ध हुने र स्थानीयको दैनिक जीवनस्तर सुधार हुने उहाँको भनाइ छ ।

कार्यक्रममा इन्जिनियर पवन कुमार योगीले पुल प्राविधिक रूपमा सुरक्षित र दिगो बनाइने जानकारी दिनुभयो । पालिका स्तरीय बजेट र वडाको सहकार्यमा २ करोड ५० लाखको लागतमा पुल निर्माण ठेक्का प्रक्रियामा गइसकेको उहाँले बताउनुभयो । तत्कालीन फुलबारी गाविसका उपाध्यक्ष ताराबहादुर कार्कीले पुल निर्माण कार्य समयमै सम्पन्न गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

वडा सदस्य खिमकान्त पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार अरुण नेपालीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस