दाङ । दाङको तुलसीपुरमा प्रधान कार्यालय रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आज आफ्नो १८ औँ वार्षिकोत्सव मनाउदै छ । विस २०६४ सालमा स्थापना भएको संस्थाले हरेक वर्ष माघ १६ गतेलाई स्थापना दिवसको रूपमा मनाउँदै आएको छ ।
संस्थाले वार्षिकोत्सवको अवसरमा आफ्ना उत्कृष्ट बचतकर्ता, रेडियोका उत्कृष्ट स्रोता, कर्मचारी लगायतलाई सम्मान गर्ने कार्यक्रम तय गरेको छ । बिहान ११ बजे संस्थाले संचालन गरेको हाम्रो पहुँच सेकन्डरी स्कुलको प्रांगनमा कार्यक्रम हुन लागेको संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले जानकारी दिनुभयो ।
सहकारीले बहुउद्देश्यीय लक्ष्यका साथ विभिन्न क्षेत्रमा लगानी र सेवा विस्तार गरेको छ । संस्थाले विशेष गरी सञ्चार, शिक्षा र उद्योगका माध्यमबाट सदस्यहरूको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न काम गरिरहेको उहाँले बताउनुभयो । हाल संस्थाले सहकारीसंगै पेट्रोल पम्प, विद्यालय, रेडियो स्टेशन र डेरी उद्योग जस्ता महत्वपूर्ण विभागहरू सञ्चालन गर्दै आएको छ ।
संस्थाले हाल ११० जनालाई प्रत्यक्ष रूपमा रोजगारी प्रदान गरेको छ । १८ औँ वार्षिकोत्सव मनाउने तयारी गरिरहँदा संस्थामा करिब ५ हजार शेयर सदस्यहरू आबद्ध भइसकेका छन् । संस्थाले वार्षिकोत्सव कार्यक्रममा सहभागीताका लागि सबै शेयर सदस्यमा हार्दिक अपिल समेत गरेको छ ।














