दाङ । अबदेखि स्वास्थ्य बिमा गरेका बिमितले २५ हजारको मात्र बहिंरग (ओपिडी ) सेवा लिन पाउने भएका छन् ।
स्वास्थ्य बिमा बोर्डको बोर्डका सूचना अधिकृत विकेश मल्लले बोर्ड बैठकले अब देखि बिमितले २५ हजार सम्मको मात्र ओपिडी सेवा लिन सक्ने गरि नियम बनाएको जानकारी दिनुभयो ।
मल्लका अनुसार यो नियम फागुन १ गतेदेखि कार्यान्वयनमा ल्याउन लागिएको हो । हालसम्म बिमितले चाहे जति रकम ओपिडीमा खर्च गर्न सक्ने व्यवस्था थियो । तर, फागुन १ गतेबाट ओपिडी सेवामा २५ हजारभन्दा बढी खर्च भएमा बिरामीले आफूले शुल्क तिरेर थप उपचार लिनुपर्ने छ ।
बढ्दो वित्तीय भार नियन्त्रण गर्न बोर्डले यस्तो निर्णय गरेको उहाँले जानकारी दिनुभयो । बोर्डका अनुसार बिमितको सबै भन्दा बढी ७१ प्रतिशत बिमा रकम ओपिडीमा खर्च हुने गरेको छ । ओपिडीमा सीमितता लागु भएपछि अब बिमाको दूरुपयोग कम हुने मल्लकको दाबी छ । यसअघि बोर्डले बिरामीलाई अनावश्यक (रिफर) नगर्न बिमा कार्यक्रममा आबद्ध सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको थियो ।
बिमा कार्यक्रममा वार्षिक रूपमा झन्डै २४ अर्बभन्दा बढी खर्च हुने गरेको छ । तर, सरकारले चालु आर्थिक वर्षमा बोर्डलाई वार्षिक रूपमा १० अर्ब अनुदान दिएको थियो । बोर्डले प्रत्येक महिनामा सेवाप्रदायक संस्थालाई दुई अर्बभन्दा बढी भुक्तानी गर्नुपर्ने हुन्छ । बोर्डको तथ्याङ्कअनुसार बिमितको प्रिमियमबाट करिब चार अर्ब उठेको छ । यसरी हेर्दा बोर्डको आम्दानी स्रोत १४ अर्ब हुने देखिन्छ । तर खर्च भने २४ अर्बभन्दा बढी हुन्छ । आम्दानी र खर्चबिचको ठुलो खाडल बन्दै गएपछि बिमा कार्यक्रम सञ्चालन गर्न चुनौती थपिएको छ ।














