२०८२ फाल्गुन २९ गते शुक्रवार

अमिलियामा २७ लाख बराबरको अवैध जिमका सामान बरामद


दाङ ।
दाङको अमिलियामा प्रहरीले भन्सार छली ल्याइएका लाखौँ मूल्यका जिमका सामानहरू नियन्त्रणमा लिएको छ । लमही नगरपालिका वडा नम्बर ९ स्थित अमिलिया चोकमा गएराति गरिएको विशेष चेकिङका क्रममा ती सामान बरामद गरिएको हो ।

इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले बुटवलबाट धनगढी तर्फ जाँदै गरेको युके ०६ सिबी ४६३३ नम्बरको भारतीय ट्रकलाई चेकजाँच गरेको हो । चेकजाँचका क्रममा ट्रकमा लोड गरिएका जिमका सामानहरूको बिल नभएको भेटिएको हो ।

प्रहरीका अनुसार बरामद गरिएको सामानको जम्मा मूल्याङ्कन २६ लाख ८१ हजार ६ सय ५८ रुपैयाँ गरिएको छ । ट्रक र सामानलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर, बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी रेशम बोहराले जानकारी दिनुभयो ।

पछिल्लो समय सीमावर्ती क्षेत्रमा भन्सार छलीका गतिविधि रोक्न प्रहरीले सक्रियता बढाएको छ ।

तस्बिर : एआई

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस