दाङ । लुम्बिनी प्रदेशमा एक महिनाको अवधिमा १ सय ८९ जना फरार प्रतिवादी पक्राउ पक्राउ परेका छन् । चालु आर्थिक वर्षको माघ महिनामा फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्रता दिँदै नेपाल प्रहरीले १ सय ८९ जनालाई पक्राउ गरेको हो ।
फैसला कार्यान्वयन अन्तर्गत विभिन्न अदालतबाट सजाय तोकिएका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको हो । प्रहरीले लुम्बिनी प्रदेशबाट १८९ जना पक्राउ गरिएको विवरण सार्वजनिक गरेको छ ।
पक्राउ परेका प्रतिवादीहरूबाट कुल ७५ लाख ५२ हजार ९ सय ८८ रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ । साथै उनीहरूलाई अदालतको फैसला अनुसार कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित कारागार चलान गरिएको छ ।
फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले प्रहरीको फरार प्रतिवादी खोजी तथा पक्राउ अभियान निरन्तर जारी रहेको जनाइएको छ ।















