दाङ । भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा सम्पूर्ण तयारी पूरा भएको छ । दाङ निर्वाचन क्षेत्र नम्बर ३ का मुख्य निर्वाचन अधिकृत चन्द्रबहादुर सिंजाली मगरले निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभएको छ ।
नेपाल पत्रकार महासंघ दाङ शाखाले आज तुलसीपुरमा आयोजना गरेको ‘निर्वाचनका क्रममा मतदानस्थल केन्द्रित रिपोर्टिङ’ विषयक छलफल कार्यक्रममा बोल्दै उहाँले सुरक्षा प्रबन्ध, सूचना प्रवाह र पत्रकार आचारसंहिताबारे जानकारी गराउनुभएको हो ।
मतदान केन्द्रहरूमा आवश्यक जनशक्ति, निर्वाचन सामग्री तथा सुरक्षा व्यवस्थापन पूरा भइसकेको जानकारी दिनुभयो । मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी तथा सुरक्षाकर्मीहरू सम्बन्धित मतदान केन्द्रमा खटिइसकेको बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृत सिंजालीका अनुसार क्षेत्र नम्बर ३ मा ५६ वटा मतदान स्थल र १ सय ६९ मतदान केन्द्र रहेका छन् । उक्त क्षेत्रमा एक हजार ७४ जना कर्मचारी परिचालन गरिएको पनि उहाँले जानकारी दिनुभयो ।



















