दाङ । दाङको निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पाटीका कमल सुवेदी भारी मतान्तरसहित निर्वाचित हुनुभएको छ । सुवेदीले नेपाली कांग्रेसका दिपक गिरीलाई २७ हजार ७९४ मतान्तरले हराउदै जित निकाल्नुभएको हो ।
सुबेदीले ४४ हजार दुईसय ४८ मत प्राप्त गर्दा गिरीले १६ हजार चारसय ५३ मतमात्रै प्राप्त गर्नुभएको छ । कांग्रेसका गिरी निवर्तमान सांसद हुनुहुन्छ । गिरी २०७९ मा भएको निर्वाचनमा ३६ हजार ९ सय ११ मत ल्याएर निर्वाचित हुनुभएको थियो । तर यसपटकको निर्वाचनमा गिरीले पहिलेको मत नै सुरक्षित गर्न सक्नुभएन ।
प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुवेदी पनि २०७९ सालको निर्वाचनमा गिरीसंगै प्रतिष्पर्धामा रहनुभएको थियो । तर उहाँले २०७९ मा १५ हजार ३२६ मत ल्याउनुभएको थियो । सुवेदीले यसपटक अघिल्लो निर्वाचनभन्दा करिब दोब्बर बढी मत ल्याएर निर्वाचित हुनुभएको हो ।
पुराना दलहरुप्रतिको वितृष्णा, कांग्रेसभित्रको आन्तरिक विवाद र रास्वपाप्रतिको जनलहरले पनि सुवेदीलाई संसदीय यात्रा सहज भएको हो । दंगिशरण गाउँपालिका–४ निवासी सुवेदीले राजनीतिशास्त्रबाट एमए गर्नुभएको छ ।
क्षेत्र नम्बर ३ मा तेस्रोमा नेकपा एमालेका घनश्याम पाण्डेले १२ हजार एक सय ९५ मत प्राप्त गर्नुभएको छ भने चौथोमा नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले ९ हजार ३२८ मत प्राप्त गर्नुभएको छ ।















