२०८२ फाल्गुन २६ गते मङ्गलवार

दाङका तीन वटै निर्वाचन क्षेत्रमा रास्वपाको क्लिनस्वीप


दाङ । दाङका तीन वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पाटीले क्लिनस्विप गरेको छ । तीन वटै निर्वाचन क्षेत्र रास्वपाका उमेदवारले भारी मतान्तरसहित जित निकालेका हुन् ।

दाङ क्षेत्र नम्बर १ मा रास्वपाका उमेदवार देवराज पाठक निर्वाचित हुनुभएको छ । पाठकले निकटतम पतिष्पर्धि नेपाली कांग्रेसका उमेदवार योगेन्द्र चौधरीलाई २७ हजार ३२२ मतले पछि पारेर निर्वाचित हुनुभएको छ ।

पाठकले ४२ हजार ६०२ मत ल्याउँदा उहाँका निकटम प्रतिष्पर्धि चौधरीले १५ हजार २८० मत ल्याउनुभएको छ । तेस्रोमा नेकपा एमालेका रेवतीरमण शर्माले ६ हजार ८२५ मत ल्याउनुभएको छ । क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पाटीका उमेदवार मेटमणी चौधरी ४ हजार ९६५ मत ल्याउनुभएको छ ।

विपिन कुमार आचार्य निर्वाचित
दाङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विपिन कुमार आचार्य भारी मतान्तरका साथ विजयी हुनुभएको छ । आचार्यले नेकपा एमालेका उम्मेदवार शंकर पोखरेललाई २८ हजार २ सय ७२ मतले पछि पारेर प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

उहाँले कुल खसेको मतको आधाभन्दा बढी मत प्राप्त गर्नुभएको छ । निर्वाचन परिणामअनुसार आचार्यले ४३ हजार ५ सय ५९ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका पोखरेलले १५ हजार २ सय ८७ मत मात्र प्राप्त गर्नुभएको छ ।

पोखरेलको यो लगातार दोस्रो हार हो । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार रेखा शर्मासँग १९३ मतले पराजित हुनुभएका पोखरेल यसपटक रास्वपाका आचार्यसँग २८ हजारभन्दा बढी मतान्तरले पराजित हुनुभएको छ ।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार किरण किशोर घिमिरेले ११ हजार ५ सय ५८ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिष्ट पार्टीका निर्मल आचार्यले ७ हजार ८३ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नम्बर २ मा अन्तिम मतपरिणम अनुसार नेकपाका आचार्यसहित अन्य उम्मेदवारको पनि जमाननत जफत भएको छ ।

कमल सुवेदी निर्वाचित
दाङको निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पाटीका कमल सुवेदी भारी मतान्तरसहित निर्वाचित हुनुभएको छ । सुवेदीले नेपाली कांग्रेसका दिपक गिरीलाई २७ हजार ७९४ मतान्तरले हराउदै जित निकाल्नुभएको हो ।

सुबेदीले ४४ हजार दुईसय ४८ मत प्राप्त गर्दा गिरीले १६ हजार चारसय ५३ मतमात्रै प्राप्त गर्नुभएको छ । कांग्रेसका गिरी निवर्तमान सांसद हुनुहुन्छ । गिरी २०७९ मा भएको निर्वाचनमा ३६ हजार ९ सय ११ मत ल्याएर निर्वाचित हुनुभएको थियो । तर यसपटकको निर्वाचनमा गिरीले पहिलेको मत नै सुरक्षित गर्न सक्नुभएन ।

प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुवेदी पनि २०७९ सालको निर्वाचनमा गिरीसंगै प्रतिष्पर्धामा रहनुभएको थियो । तर उहाँले २०७९ मा १५ हजार ३२६ मत ल्याउनुभएको थियो । सुवेदीले यसपटक अघिल्लो निर्वाचनभन्दा करिब दोब्बर बढी मत ल्याएर निर्वाचित हुनुभएको हो ।

पुराना दलहरुप्रतिको वितृष्णा, कांग्रेसभित्रको आन्तरिक विवाद र रास्वपाप्रतिको जनलहरले पनि सुवेदीलाई संसदीय यात्रा सहज भएको हो । दंगिशरण गाउँपालिका–४ निवासी सुवेदीले राजनीतिशास्त्रबाट एमए गर्नुभएको छ ।

क्षेत्र नम्बर ३ मा तेस्रोमा नेकपा एमालेका घनश्याम पाण्डेले १२ हजार एक सय ९५ मत प्राप्त गर्नुभएको छ भने चौथोमा नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले ९ हजार ३२८ मत प्राप्त गर्नुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस