दाङ । सुर्खेतकी इनिसा बिकको हत्याका दोषिलाई कार्बाहीको मागसहित तुलसीपुरमा दृष्टिबिहिन विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । हत्यारालाई कार्बाही गर, दोषिलाई राजनीतिक उन्मुक्ति दिन पाइदैन जस्ता नारा लगाएर तुलसीपुर–४ रक्षाचौरमा रहेको गुरुजजुर माविका दृष्टिबिहिन विद्यार्थीले तुलसीपुरमा प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरुले तुलसीपुरको खानेपानी कार्यालयबाट शुरु गरेर तुलसीपुर उपमहानगरपालिकाको कार्यालय अगाडी जेसिज चोक हुँदै विपि चोक पुगेर कोष सभा गरेका हुन् ।
सभालाई सम्बोधन गर्दै दृष्टिबिहिन गणेश गन्धर्वले दोषिले कुनै पनि बहानामा उन्मुक्ति पाउन नहुने बताउनुभयो । उहाँले अहिलेको अन्तरिम सरकार र अब बन्ने शक्तिशाली सरकारले दोषिलाई कार्बाही गर्ने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै दृष्टिबिहिन बिजय मल्लले इनिसाको न्यायका लागि सरकार गम्भिर बन्नुुपर्ने बताउनुभयो । उहाँले इनिसाजस्तै अरु छोरीहरुलाई पनि अन्याय हुन सक्ने भएकाले दोषिले सजाय पाउनुपर्ने बताउनुभयो ।
नेत्रहिन संघ दाङका उपाध्यक्ष आशा चौधरीले घटनामा संलग्न दोषिलाई कार्बाहीको मागसहित सडकमा उत्रिएको बताउनुभयो । उहाँले इनिसामात्रै नभई यसअघिका निर्मला , भागरथीका दोषिले पनि सजाय पाउनुपर्ने बताउनुभयो । यस्तै अर्का विद्यार्थी हुर्मत डाँगीले कुनै पनि अवस्थामा घटनाका दोषिले सजाय पाउनुपर्ने बताउनुभयो ।















