दाङ । दाङसहित देशभर आज हरितालिका तीज पर्व मनाइँदैछ । भाद्र शुक्ल तृतीयाका दिन व्रत बसेर भगवान् शिवको पूजा तथा उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ ।
हिजो दर खाएसँगै औपचारिक रूपमा सुरु भएको तीज पर्व भोलि ऋषि पञ्चमी मनाएसँगै समापन हुनेछ । तीजको अवसरमा देशभरका शिवालयमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
यद्यपि, विगतका वर्षहरूमा जस्तो यस वर्ष तीजको उल्लास देखिएको छैन । हालैको भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि त्यसको प्रभाव तीज पर्वमा समेत परेको छ ।
बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै यस वर्ष तीजलाई विगतको तुलनामा सामान्य रूपमा मनाउने गरिएको छ ।
तीजको अवसरमा सरकारले आज महिलालाई सार्वजनिक बिदासमेत दिएको छ । दर खाएपछि आज व्रत बस्ने परम्परा छ । धार्मिक मान्यताअनुसार सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि सम्भव नभए फलाहार गरेर व्रत बस्न सकिन्छ ।
स्वास्थ्य विज्ञहरूले भने आफ्नो स्वास्थ्य अवस्थालाई ध्यान दिएर मात्र व्रत बस्न सुझाव दिएका छन् । निराहार व्रत बस्न नसक्नेहरूले प्रशस्त पानी, फलफूल तथा जुस सेवन गर्न चिकित्सकको सुझाव छ । लामो समयसम्म निराहार बस्दा शरीरमा पानीको कमी भई कमजोरी तथा बेहोस हुने जोखिम हुनसक्ने भएकाले विशेष सावधानी अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन् ।
स्वास्थ्य अवस्था कमजोर भएका वा निराहार व्रत बस्न नसक्नेहरूले गहुँ वा मकैको रोटी तथा स्याउ, सुन्तला, केराजस्ता फलफूल सेवन गरेर पनि व्रत बस्न सकिने धार्मिक मान्यता छ ।

























