२०८३ बैशाख ६ गते आइतवार

१३ वर्षमा १३ हजारभन्दा धेरै वन डढेलोका घटना


दाङ । यही चैत १ देखि ७ गतेसम्म देशभर वन डढेलो सप्ताह चलिरहेको छ । यही अवधिमा वन तथा भू–संरक्षण विभागले वन डढेलोसम्बन्धी एक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा देशमा पछिल्लो १३ वर्षको ‘स्याटेलाइट’ तथ्याङ्कअनुसार डढेलोको जोखिम बढिरहेको उल्लेख छ ।

विभागको तथ्याङ्कमा विसं २०७० देखि २०८२ सम्म देशभर १३ हजार ६२२ वटा वन डढेलो घटना अभिलेख भएका छन् । वन डढेलो गम्भीर वातावरणीय चुनौतीका रूपमा देखिएको छ । प्रतिवेदनअनुसार नेपालमा वन डढेलो मौसमी प्रकृतिको देखिन्छ । कुल घटनामध्ये झन्डै ८९ प्रतिशत वन डढेलो फागुनदेखि वैशाखसम्म भएका छन् । त्यस अवधिमा लामो सुक्खा, न्यून आद्रता, उच्च तापक्रम, हावाको तीव्रता, कृषि अवशेष जलाउने प्रचलन, वन क्षेत्रमा मानव गतिविधि वृद्धिका कारण वन डढेलोको जोखिम बढी हुने उल्लेख छ ।

वैशाख महिनामा कुल घटनाको झन्डै ५७ दशमलव ७ प्रतिशत वन डढेलो भएको उल्लेख छ । विसं २०७३ लाई सबैभन्दा गम्भीर वन डढेलो वर्षका रूपमा देखाइएको छ । विसं २०७८ र २०८१ मा उल्लेख्य सङ्ख्यामा डढेलोका घटना अभिलेख गरिएका छन् ।

विभागको विश्लेषणात्मक प्रतिवेदनअनुसार विसं २०८२ वैशाख १ देखि फागुन २९ सम्म देशभर कम्तीमा २८२ वटा डढेलोका घटना अभिलेख भएका छन् । प्रतिवेदनअनुसार गएको वैशाख १ देखि फागुन २९ सम्म वन डढेलो देशका सातै प्रदेशमा फैलिएको भए पनि सुदूरपश्चिम प्रदेश सबैभन्दा बढी प्रभावित देखिएको छ ।

सुदूरपश्चिममा देशको कुल घटनाको झन्डै एकतिहाइ अर्थात् ३३ दशमलव ३ प्रतिशत वन डढेलोको घटना अभिलेख भएको छ । प्रदेशगत रूपमा बागमतीमा १९ दशमलव १ र कर्णालीमा १६ दशमलव ७, गण्डकीमा ९ दशमलव ६, लुम्बिनीमा ८ दशमलव ९, कोशीमा ८ दशमलव २ र मधेशमा ४ दशमलव ३ प्रतिशत वन डढेलोका घटना भएका छन् ।

वन तथा भू–संरक्षण विभागका महानिर्देशक धीरेन्द्रकुमार प्रधानले डढेलोको बढ्दो जोखिमलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सङ्घ, प्रदेश र पालिकाका निकाय, सामुदायिक वन उपभोक्ता समूह, सुरक्षा निकाय, निजी क्षेत्र, सञ्चारमाध्यम तथा स्थानीय समुदायबीच समन्वय अनिवार्य रहेको बताउनुभयो ।

महानिर्देशक प्रधानले डढेलो रोकथाम, शीघ्र सूचना आदानप्रदान, समयमै नियन्त्रण तथा जनचेतना अभिवृद्धिमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेकामा जोड दिनुभयो ।

देशका विभिन्न संरक्षित क्षेत्रमा पछिल्लो समय डढेलोका घटना बढ्दै गएको छ । विभागको प्रतिवेदनअनुसार गएको वैशाख १ देखि फागुन २९ सम्म संरक्षित क्षेत्रमा कुल ८२ वटा डढेलोका घटना दर्ता भएका छन् । सबैभन्दा धेरै डढेलोका घटना चितवन राष्ट्रिय निकुञ्जमा देखिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस