२०८३ बैशाख ६ गते आइतवार

बालविवाह न्यूनीकरणका लागि साझा प्रतिबद्धता

दाङ। सन् २०३० सम्ममा नेपाललाई बालविवाह पूर्णरूपमा अन्त्य गर्ने राष्ट्रिय लक्ष्यलाई सार्थक तुल्याउन लुम्बिनी प्रदेशका १८ स्थानीय तहका प्रतिनिधिहरू दाङको दंगीशरणमा भेला भएका छन् ।

दंगीशरण गाउँपालिकाको आयोजनामा सुरु भएको दुई दिने ’बालविवाह न्यूनीकरण कार्यशाला’ मा दाङ, बाँके र बर्दियाका स्थानीय तहका सामाजिक विकास समिति संयोजक, महिला तथा बालबालिका शाखा प्रमुख एवं सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको छ ।

कार्यशालाको मुख्य उद्देश्य पालिका स्तरमा बालविवाह विरुद्धका नीति र योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि साझा बुझाइ र कार्यदिशा तय गर्नु रहेको छ ।

कार्यशालाको पहिलो दिन छलफलमा भाग लिँदै तुलसीपुर उपमहानगरपालिकाकी बालबालिका तथा महिला शाखा प्रमुख माया श्रेष्ठले बालविवाह दर्ता नहुने परिपाटीले गर्दा यथार्थ तथ्याङ्क सङ्कलनमा ठूलो चुनौती खडा भएको बताउनुभयो ।

विशेषगरी पछिल्लो समय बढ्दो ’प्रेम विवाह’ र ’भागी विवाह’ का कारण बालविवाह नियन्त्रणको प्रयासमा जटिलता थपिएको उल्लेख गर्दै उहाँले योजना बने पनि कार्यान्वयनको पाटो फितलो रहेको औंल्याउनुभयो ।

त्यस्तै, घोराही उपमहानगरपालिकाका सामाजिक विकास समिति संयोजक राममणि पाण्डेले भौतिक पूर्वाधार विकासमा मात्र केन्द्रित नभई समाजको सोच र चेतना बदल्ने सामाजिक विकासका कार्यक्रममा विशेष जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रिय बाल अधिकार परिषद्का विज्ञहरू रामबहादुर चन्द र लोचन रेग्मीका साथै सामाजिक विकास मन्त्रालय लुम्बिनीकी सामाजिक विकास महाशाखा प्रमुख सम्झना सुवेदीले कार्यशालाको सहजीकरण गरिरहनुभएको छ ।

उहाँहरूले बालविवाह अन्त्यका लागि कानुनी व्यवस्था, वर्तमान अवस्था, बाल संरक्षण, बाल यौन दुर्व्यवहार, बाल श्रम तथा बालबालिका ओसारपसार रोकथामका लागि आवश्यक नीति, कार्यक्रम र बजेट प्राथमिकीकरणबारे प्रकाश पार्नुभएको छ।

लुम्बिनी प्रदेशको दशवर्षे रणनीति र राष्ट्रिय कार्ययोजना २०८२ मा समावेश प्रावधानहरूका बारेमा सहभागीहरूलाई विस्तृत जानकारी गराइएको छ ।

दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा उपाध्यक्ष पिमा वली खड्का र प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीले राज्यको लक्ष्य पूरा गर्न स्थानीय तहको भूमिका निर्णायक हुने अपेक्षा व्यक्त गर्नुभयो ।

ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस) को प्राविधिक सहयोग र जस्ट राइट्स फर चिल्ड्रेनको आर्थिक सहयोगमा सञ्चालित यस कार्यक्रममा दंगीशरणका सामाजिक विकास समिति संयोजक रोशन जङ्ग शाहले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण लेखा अधिकृत ध्रुवराज न्यौपानेले गर्नुभएको थियो।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस