दाङ । श्रम संस्कृति पार्टीले तुलसीपुर उपमहानगरपालिका–१० राइखलियान क्षेत्रमा सडक सरसफाइ अभियान सञ्चालन गरेको छ । पार्टीको प्रदेश, जिल्ला तथा नगर समितिको आयोजनामा आज शनिबार सरसफाइ कार्यक्रम गरिएको हो ।
पछिल्लो दुई दिनदेखिको वर्षापछि गौरीगाउँ क्षेत्रको कुलोमा थुप्रिएको फोहोर बगेर सडकमा पुगेपछि स्थानीय बासिन्दालाई हिँडडुल गर्न तथा सवारी आवागमनमा समस्या भएको थियो । साथै बस्ती दुर्गन्धित बनेपछि पार्टीले श्रम अभियानलाई तीव्रता दिँदै सरसफाइ गरेको जनाएको छ ।

पार्टीका प्रदेश सह–सचिव टोपबहादुर महताराले बजारबाट कुलोमा फालिएको फोहोर गाउँसम्म पुग्दा समस्या बढेकाले सरसफाइ अभियान सञ्चालन गरिएको बताउनुभयो । उक्त फोहोरका कारण किसानलाई कृषि कार्यमा समेत असर परेको र उत्पादनमा पनि कमी आउने उहाँले बताउनुभयो ।
श्रम अभियानले नै देश परिवर्तन गर्न सकिन्छ भन्ने उद्देश्यका साथ पार्टीले सरसफाई अभियानलाई तिब्रता दिएको उहाँले जानकारी दिनुभयो । पार्टीले हरेक हप्ताको शनिबारका दिन श्रमलाई निरन्तरता दिने उहाँको भनाई छ । तुलसीपुरबाट सुरु गरिएको अभियान देशभर विस्तार गर्ने योजना रहेको पनि उहाँको भनाइ छ । सरसफाइका क्रममा संकलित फोहोर व्यवस्थापनमा सहयोग गरेकोमा तुलसीपुर उपमहानगरपालिकालाई उहाँले धन्यवाद दिनुभएको छ ।

नगर अध्यक्ष मधुकर न्यौपानेले सरसफाइ कार्यक्रमले स्थानीय नागरिकलाई आफ्नै बस्ती सफा राख्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । अभियानलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।
स्थानीय नरबहादुर ओलीले यो समस्या लामो समयदेखि रहँदै आएको बताउनुभयो । बजार क्षेत्रको फोहोर व्यवस्थापन नहुँदा गाउँका स्थानिले समस्या भोग्नु परेको बताउनुभयो । आज श्रम संस्कृति पार्टीले गाँउका उपभोक्ताहरुलाई बोलाएर सरसफाई गरेको उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।
बजारको फोहोर कुलोमा फाल्दा गाउँमा बगेर जाने र उक्त फोहोरले राइखलियान, पढ्ढा, गौरीगाउँ, चैलाही लगायतका बस्तीका बासिन्दा प्रभावित भएका छन् । यो समस्या स्थानियले वषौदेखि झेल्दै आएका छन् । तुलसीपुर–१० को राइखलियान, पढ्ढा, गौरीगाउँ, चैलाही गाउँका स्थानियले सिंचाईका लागि उक्त कुलोको पानी प्रयोग गदै आएका छन् ।
कार्यक्रममा जिल्ला अध्यक्ष राजन विश्वकर्मा, जिल्ला उपाध्यक्ष गीता बिष्ट, सदस्य तिलक बुढा मगर, नगर उपाध्यक्ष एकराज विक र नगर कोषाध्यक्ष कमल डाँगी लगायतको सहभागिता रहेको थियो ।














