२०८३ जेष्ठ २१ गते बिहिवार

वडाबासीको घरमा बत्ती बाल्न विद्युत् कार्यालयमा वडाध्यक्षको ४ घण्टा धर्ना


सल्यान । तीन थान मिटरबक्सका लागि कपुरकोट गाउँपालिका–३ का वडाध्यक्ष प्रदीप खड्का ४ घण्टा धर्ना बस्नुभएको छ । वडाबासीको घरमा बत्ती बाल्ने भन्दै विद्युत् प्राधिकरणको कार्यालय खलंगा सल्यानमा धर्ना दिएपछि उहाँले मिटरबक्स प्राप्त गर्नुभएको हो ।

आर्थिक लगायत विभिन्न किसिमको समस्याका कारण खलंगा आउन नसकेपछि वडा नंम्बर ३ कटुजेरीका अन्जना खड्का, रामकली बोहरा र लालबहादुर खड्काका लागि अध्यक्ष खड्का मिटरबक्स लैजाने भनेर हिजो आइतबार दिउँसो १ बजे खलंगा आएका थिए ।

कार्यालयको सल्लाहअनुसार उनले मिटरबक्सका लागि तीन जनाको फाइल दर्ता गर्नुका साथै लाग्ने दस्तुर, राजस्व आइतबार दिउँसै बुझाएका थिए । सबै प्रक्रिया पूरा गरिसके पनि कार्यालयका प्रमुख तथा कर्मचारीले आलटाल गर्दै तुरुन्तै मिटरबक्स दिन नसकिने भनेपछि खड्गाले आएतबार बेलुकी साढे ५ बजेदेखि राति साढे ९ बजेसम्म धर्ना दिनुभएको थियो ।

सामाजिक सञ्जालमा धर्नाबारेका समाचार फैलन थालेपछि प्राधिकरणको कार्यालयले उहाँलाई राति १० बजेतिर तीन थान मिटरबक्स उपलब्ध गराएको थियो ।

आइतबार नै मिटरबक्स लैजाने भनेर विद्युत् प्राधिकरण पुगेको अध्यक्ष खड्काको भनाइ छ । धर्नापछि राति १० बजेतिर मिटर पाएको र राति नै धर्ना त्यागेर घर फर्केको उहाँले जानकारी दिनुभयो ।

विद्युत प्राधिकरणका प्रमुख नरेशदत्त रावतले उपभोक्ता तथा सेवाग्राहीले निवेदन दिएको २४ घन्टाभित्र कोडसहित सामग्री उपलब्ध गराउने प्रक्रिया भएको र कोडबिना मिटरबक्स दिन नमिल्ने भएकाले तत्काल उपलब्ध गराउन नसकेको बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस