दाङ ।
दाङको तुलसीपुर–५ स्थित शारदा सिस्ने बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको बिदाइ कार्यक्रम गरिएको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक तथा विद्यार्थीहरूको उत्साहजनक सहभागीतामा कार्यक्रम गरिएको हो ।
कक्षा ९ का विद्यार्थी लक्ष्मण केसीको अध्यक्षता तथा विद्यालयका प्रिन्सिपल मिन कुमार आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कक्षा ९ की छात्रा झरना बुढाथोकीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण कक्षा ९ का विद्यार्थी दीपेन्द्र बोहरा र सरोजा नेपालीले गर्नुभएको हो ।
कार्यक्रममा विद्यालयको तर्फबाट शिक्षिका सरिता शर्माले मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो ।
कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीहरूले आकर्षक नृत्य तथा गीत प्रस्तुत गरी कार्यक्रमलाई थप मनोरञ्जनपूर्ण बनाएका थिए । शिक्षकहरूका लागि समेत रमाइला खेलहरू आयोजना गरिएको थियो, जसले कार्यक्रमलाई अझ रोचक र स्मरणीय बनाएको थियो ।
कार्यक्रममा बिदाइ हुने विद्यार्थीहरूले विद्यालयमा बिताएका अमूल्य क्षणहरू सम्झँदै आफ्ना अनुभव र भावना व्यक्त गरेका थिए भने शिक्षकहरूले उनीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभएको थियो ।















