२०८३ बैशाख ५ गते शनिवार

प्रहरी हस्तक्षेपप्रति लेखापढी कानुन व्यवसायीको आपत्ति

दाङ । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाई समिति तथा भू–सेवा केन्द्र तुलसीपुरले प्रहरी प्रशासनले आफ्ना सदस्यहरूमाथि गरिएको धरपकडप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गत २२ गते मालपोत कार्यालय तुलसीपुरको प्राङ्गणमा सेवा प्रवाह गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएका सुरक्षाकर्मीले लेखापढी व्यवसायी र सेवाग्राहीलाई नियन्त्रणमा लिएको घटनालाई लिएर एसोसिएसनले विरोध जनाएको हो ।

सरकारको सेवा निर्देशिका बमोजिम अनुमति पत्र प्राप्त गरी, आन्तरिक राजस्व कार्यालयमा सूचीकृत भई नियमानुसार व्यवसाय गरिरहेका ५ जना लेखापढी व्यवसायी र २ जना सेवाग्राहीलाई प्रहरीले ‘विचौलिया’को संज्ञा दिँदै पक्राउ गरेको थियो ।

आफ्नो परिचय पत्र र तोकिएको पोशाकमै रहेका व्यवसायीहरूलाई विना कारण नियन्त्रणमा लिएर केही समयपछि ‘भुलवश परेको’ भन्दै छाडिएको विज्ञप्तिमा उल्लेख छ । एसोसिएसनका सचिव तिलकराम शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘राज्यले सुशासन दिने नाममा वास्तविक विचौलिया पहिचान नगरी, कानुनसम्मत पेशा गर्ने निर्दोष व्यक्तिहरूलाई धरपकड गर्दा सामाजिक प्रतिष्ठा र पेशागत मर्यादामा गम्भीर आँच पुगेको छ ।’ विज्ञप्तीमा भनिएको छ ।

संस्थाले यस्ता गैर–जिम्मेवार कार्य तत्काल रोक्न र वास्तविक विचौलियाको पहिचान गरी उनीहरूलाई मात्र कानुनी दायरामा ल्याउन सरोकारवाला निकायसँग जोडदार माग गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस