२०८३ बैशाख १ गते मङ्गलवार

नेपाल उद्योग तथा व्यवसाय महासङ्घ तुलसीपुरको भित्तेपात्रो विमोचन

तुलसीपुर । नेपाल उद्योग तथा व्यवसाय महासङ्घ तुलसीपुर नगर समितिले नयाँ वर्ष २०८३ सालको भित्तेपात्रो विमोचन गरेको छ। तुलसीपुरमा शनिवार आयोजित कार्यक्रममा नगर अध्यक्ष पदम पोखरेलको अध्यक्षता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको प्रमुख आतिथ्यता एवं नेपाल उद्योग तथा व्यवसायी महासङ्घ दाङका अध्यक्ष नरेशराज भण्डारीको विशिष्ट आतिथ्यतामा भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि केसीले नयाँ वर्ष २०८३ सालको शुभकामना व्यक्त गर्दै देशको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले उद्योगी–व्यवसायीहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दै नयाँ वर्षले समृद्धि र सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। त्यसैगरी, विशिष्ट अतिथि भण्डारीले पनि नयाँ वर्षको शुभकामना व्यक्त गर्दै स्थानीय स्तरमा व्यवसाय विस्तार र रोजगारी सिर्जनामा जोड दिनुपर्ने बताउनुभयो। उहाँले व्यवसायमैत्री वातावरण निर्माणका लागि सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। महासङ्घले हरेक वर्षझैँ यस वर्ष पनि उपयोगी जानकारी समेटिएको भित्तेपात्रो प्रकाशन गरेको जनाएको छ।

यसैबीच महासङ्घले व्यवसायिक क्षेत्रमा रहेका ३ जना सफल उद्यमीहरूलाई सम्मान गरेको छ। आधुनिक कृषि प्रविधिको प्रयोग र कृषि क्षेत्रको विकासमा योगदान पुर्‍याएवापत राप्ती सल्यानी खुकुरी उद्योगका सञ्चालक उमलाल विक, उन्नत पशुपालनतर्फ बाबा बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक विष्णुप्रसाद रिजाल, साना तथा मझौला व्यवसाय सञ्चालन, विस्तार र उद्यमशीलताको विकासतर्फ रानी केक तुलसीपुरका सञ्चालक दीपक काफ्लेलाई सम्मान गरिएको हो।

कार्यक्रममा नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तुलसीपुरका अध्यक्ष लालबहादुर केसी, तुलसीपुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष रामप्रसाद चालिसे, युवा व्यवसायी दीपक काफ्ले लगायतका सहभागीहरूले व्यवसायिक एकताका लागि सबै व्यवसायीहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै नयाँ वर्षको शुभकामना आदान–प्रदान समेत गरेका थिए।

नगर अध्यक्ष पदम पोखरेलको स्वागत मन्तव्य तथा विषय प्रवेशबाट सुरु भएको कार्यक्रमको सहजीकरण कोषाध्यक्ष पुष्कर श्रेष्ठले गर्नुभएको थियाे ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस