दाङ, ३० चैत ।
तुलसीपुर उपमहानगरपालिकाले सोमबार ३४ औँ स्थापना दिवस मनाएको छ । उपमहानगरपालिकाले विभिन्न कार्यक्रम गरी आफ्नो ३४ औँ स्थापना दिवस मनाएको हो ।
नगरप्रमुख टिकाराम खड्काको अध्यक्षता तथा लुम्बिनी प्रदेशका मूख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा मूख्यमन्त्री आचार्यले तीनै तहका सरकारले सहकार्य र समन्वय गरेर काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले संघिय सरकारले प्रदेश सरकारलाई काम गर्न जवरजस्त लाद्ने काम गरेको समेत बताउनुभयो । उहाँले संघिय सरकारले करारका कर्मचारी हटाउने तयारी गरेको भन्दै करारका कर्मचारी हटाउँदा सेवाप्रवाहमा आउने समस्याबारे सरकारले सोच्नुपर्ने बताउनुभयो ।
यस्तै दाङ क्षेत्र नम्बर ३ का सांसद कमल सुवेदीले सरकारले सुशासनलाई प्राथमिकतामा राखेर अघि बढेको बताउनुभयो । नागरिकले अनुभूति हुने गरी काम गर्न सरकारले १०० कार्यसूचि बनाएर कार्यान्वयन गर्न शुरु गरेको बताउनुभयो । उहाँले ३६ वर्षसम्म रोकिन नसकेको बेतिथि केहि दिनमै अन्त्य नहुने भन्दै सरकारलाई काम गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले तुलसीपुरसहित पश्चिम दाङको विकासमा सबै दलहरु एकमत भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले उपमहानगरपालिकाको कार्यप्रगति विवरण सार्वजनिक गर्नुभयो । उहाँले ठूलो भूगोल र बढ्दो नागरिकका अपेक्षा र अव्यवस्थित बसाई सराईका कारण नगरको विकासमा केहि चुनौति रहेको बताउनुभयो । उहाँले कार्यालयको संरचना र अभिलेखहरु जेनजी आन्दोलनमा जलेर नष्ट भएको हुँदा संस्थागत क्षमता कमजोर भएको बताउनुभयो ।
कार्यक्रममा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष शुक्रराज भण्डारीले सहकारीले डेरी उद्योग संचालन गर्न खोज्दा कानुन बाधक बनेको बताउनुभयो । उहाँले सरकारले सहकारीका लागि आवश्यक कानुन निर्माण गरी सहज गराउनुपर्नेमा जोड दिनुभयो ।
रास्वपा तुलसीपुरका सभापति जीवन भण्डारीले सरकारले सुशासनलाई केन्द्रमा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले व्याप्त बेतिथि र कुशासनलाई रोकेर नागरिकले अनुभूति गर्ने गरी काम गर्नु अहिलेको सरकारको प्रमुख जिम्मेवारी रहेको बताउनुभयो ।
कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले उपमहानगरपालिकाले सन्तुलित विकासका अवधारणालाई अघि बढाउँदा समुदायले अपनत्व हुने विकास दिगो र स्थायी हुने बताउनुभयो ।
नेकपा एमाले तुलसीपुरका अध्यक्ष रूपबहादुर खत्रीले आगामी दिनमा नयाँ योजनाका साथ जानुपर्ने र काम गुणस्तरीय हुनुपर्ने बताउनुभयो । यस्तै नेपाली कम्युनिष्ट पाटी तुलसीपुरका अध्यक्ष मोहन थापाले सबै एक ठाउँमा केन्द्रित हुनुपर्ने र पाटीका आस्था जे भएपनि एकताको आवश्यकता भएको बताउनुभयो । श्रम संस्कृति पाटीका लुम्बिनी प्रदेश सहसचिव टोप बहादुर महताराले बजारको फोहोरले तलतिरको वस्ती प्रभावित बनाइरहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओेपेन्द्र बस्नेतले सरकारले नागरिकको सूचना पाउने अधिकारलाई कुण्ठित गर्न खोजेको बताउनुभयो । नगरउपप्रमुख स्यानी चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले गर्नुभएको हो । उपमहानगरपालिका स्थापना दिवसको अवसरमा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान पनि गरेको छ ।



















