दाङ । दाङको तुलसीपुर उपमहानगरपलिका–४ खुमखानीमा खानेपानीको समस्या भएको छ ।
विकट क्षेत्रमा रहेको ‘सोलार सिस्टम’ बिग्रिएपछि खानेपानीको समस्या भएको हो । यसअघि स्थानीय माथिल्लो पँधेराबाट ‘लिफ्टङ’ गरेर खुमखानी लगिएको थियो । तर, पछिल्लो एक महिनादेखि पानी तान्ने उपकरण बिग्रिएपछि खानेपानीको समस्या भएको स्थानीय अमर घर्तीले जानकारी दिनुभयो ।
खानेपानीको मोटर बिग्रिँदा त्यहाँका ३५ घरधुरी प्रभावित भएका छन् । हाल पानी ल्याउन दुई घण्टा हिँड्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । अहिले खानेपानीको मोटर बिग्रिँदा गाउँमा पानी नआएको उहाँले बताउनुभयो ।
खानेपानीको हाहाकार हुँदा खुमखानीका नागरिक पलायन हुने अवस्था रहेको उहाँको भनाइ छ । बाह्र वर्षभन्दाअघि पनि खानेपानी नहुँदा धेरै घर बसाइँसराइ सरेर अन्त गएको उहाँले जानकारी दिनुभयो । अब पनि पानी नआउने अवस्था भएमा गाउँ नै पलायन हुने अवस्था आउन सक्ने उहाँको भनाई छ ।
नेपाल विद्युत् प्राधिकरण तुलसीपुर वितरण केन्द्रले समस्या समाधानतर्फ ध्यान नदिएको तुलसीपुर–४ का जितबहादुर थापाले बताउनुभयो ।
रासस














