दाङ । दाङ प्रहरीले २१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न समयमा अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरूलाई खोजतलास गर्ने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको हो ।
वैशाख १ गतेदेखि ११ गतेसम्म सञ्चालन गरिएको विशेष अभियानमा २१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेकाहरूलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालत घोराहीमा पठाइएको छ ।
पक्राउ परेका व्यक्तिहरूमाथि २९ हजार ८५० रुपैयाँ जरिवाना र ५ वर्ष ३ महिना २० दिन कैद सजाय रहेको प्रहरीले जनाएको छ । प्रहरीले फरार प्रतिवादी खोजी तथा पक्राउ अभियानलाई अझ सशक्त रूपमा अगाडि बढाइने जनाएको छ ।



















