दाङ । दाङमा लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । गढवा गाँउपालिका–१ धानखोलाका २७ वर्षका गोविन्द घर्ति मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
इलाका प्रहरी कार्यालय भालुवाङ र अस्थायी प्रहरी पोष्ट कालाकाटे दाङबाट खटिएको प्रहरी टोलिले गोविन्दको साथबाट ब्राउन सुगर जस्तो देखिने करिब १५ ग्राम ८८ मिलिग्राम लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।
उक्त व्यक्तिको साथबाट लागु औषध ओसारपसार तथा सम्भावित कारोबारमा प्रयोग भएको बा ८५ प १९५१ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
साथै जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहत प्रहरी ईकाईहरुबाट लागुऔषध नियन्त्रण तथा न्यूनीकरणका लागि संचालित अभियान अन्तर्गत लागुऔषध सेवन, विक्रिवितरण तथा ओसारपसारमा संलग्न अन्य शंकास्पद ३८ जनालाई हिजो नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । दुई दिनमा ६५ जनालाई नियन्त्रणमा लिइएको र समाजलाई लागुऔषध मुक्त बनाउने अभियान निरन्तर जारी रहने दाङ प्रहरीले जनाएको छ ।



















