२०८३ जेष्ठ २७ गते बुधवार

खोलामा अवैध उत्खनन् गर्ने १८ सवारी साधनलाई साढे ४ लाख जरिवाना

दाङ । दाङमा अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन तथा ओसारपसार गर्ने १८ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङ र मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको टोलीले गत वैशाख १५ गतेदेखि २१ गतेसम्म जिल्लाका विभिन्न स्थानमा विशेष निगरानी बढाएको थियो ।

त्यस क्रममा अवैध रूपमा ढुङ्गा, बालुवा र गिट्टी ओसारपसारमा संलग्न २ वटा जेसिबी, ६ वटा ट्रिपर र १० वटा ट्याक्टरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी रेशम बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार १८ वटा सवारीसाधनबाट चार लाख ५२ हजार चार सय एक रुपैयाँ जरिवाना असुल गरिएको छ ।

प्रहरीले नियन्त्रणमा लिएका ती सवारी साधनहरूलाई तोकिएको जरिवाना भुक्तानी गरेपछि सम्बन्धित धनीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । पछिल्लो समय जिल्लाका विभिन्न खोला तथा नदीहरूबाट मापदण्ड विपरीत र अवैध रूपमा नदीजन्य पदार्थको दोहन बढ्दै गएपछि प्रहरीले सक्रियता बढाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस