२०८३ जेष्ठ १० गते आइतवार

तुलसीपुर उमनपाको सार्वजनिक सुनुवाइ : शिक्षा, स्वास्थ्य र सुकुम्बासीका विषयमा चासो

दाङ, २८ वैशाख । तुलसीपुर उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य, कृषि तथा सुकुम्बासीका विषयमा स्थानीय सरकारले गम्भीर ध्यान दिनुपर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै तुलसीपुर–७ का खुमानन्द अधिकारीले जेष्ठ नागरिक समाजको ऐना भएकाले स्थानीय सरकारले उनीहरूलाई प्राथमिकतामा राखेर विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले जेष्ठ नागरिकका सवालमा स्थानीय सरकारले कन्जुस्याइँ गर्न नहुने धारणा राख्नुभयो ।

यस्तै अर्का सहभागि अशोककुमार आचार्यले शिक्षामा राज्यको लगानी न्यून रहेको गुनासो गर्नुभयो । सीमित विद्यालयमा मात्र लगानी केन्द्रित हुँदा ग्रामिण भेगका विद्यालयहरू ओझेलमा परेको उहाँको भनाइ थियो ।

पर्याप्त बजेट, भौतिक संरचना र न्यायोचित शैक्षिक अवसर सुनिश्चित गर्न स्थानीय सरकारले पहल गर्नुपर्ने उहाँले बताउनुभयो । सहरी क्षेत्रका विद्यालयमा केही लगानी भए पनि ग्रामीण बस्तीका विद्यालय अझै उपेक्षामा परेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा तुलसीपुर–१२ का लालबहादुर रावतले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमणका विषयमा स्थानीय सरकारको धारणा माग गर्नुभएको थियो । साथै बजार क्षेत्रबाट बग्ने फोहोरका कारण वडा नम्बर १०, ११ र १२ का नागरिकहरूले भोग्दै आएको समस्याबारे पनि प्रश्न उठाउनुभयो ।

जवाफमा कार्यक्रमका अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले वास्तविक भूमिहीन सुकुम्बासीलाई कुनै पनि हालतमा विस्थापित नगर्ने बताउनुभयो ।

समस्या परेको बेला नागरिकको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै उहाँले सरकारी तथा अतिक्रमित जग्गा मिचेर बसेकाहरूलाई हटाउन गरेको सरकारको आग्रहलाई भने समन्वय गरिने जानकारी दिनुभयोे ।

कार्यक्रममा सहभागी अधिकांश वक्ताहरूले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा देखिएका समस्याको समाधानका लागि स्थानीय सरकारले तत्काल पहल गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ वडा अध्यक्ष तथा सम्बन्धित शाखा प्रमुखहरूले दिएका थिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा उपमहानगरपालिकाको प्रगति विवरण योजना शाखा प्रमुख रमा खड्काले प्रस्तुत गर्नुभएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस