२०८३ साउन ६ गते बुधवार

तुलसीपुर–७ मा आजदेखि वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ ।

वडा नम्बर ७ को आयोजनामा थारूगैरा खेलमैदान वराहथानमा सुरू भएको उद्घाटन खेलमा वराहथान टोल विकास संस्थाले आदर्श जानकी टोल विकास सस्थालाई ० का विरुद्ध १ एक गोलले पराजित गरेको हो । प्रतियोगितामा आज चार वटा खेल भएका थिए ।

दोस्रो खेलमा चौतारी जलधारा टोल विकास संस्थाले अमर सुधार टोल विकास संस्थालाई ० का विरुद्ध ४ गोलले पराजित गरेको वडाध्यक्ष कप खेलकुद प्रतियोगिताका संयोजक तथा वडा सदस्य मानबहादुर रानाले जानकारी दिनुभयो ।

यस्तै तेस्रो खेलमा हिमाल टोल विकास संस्था र बसन्तपुर टोल विकास संस्थाबीच प्रतिस्पर्धा भएको थियो । हिमाल टोल विकास संस्थाले पेनाल्टी सुट आउट मार्फत ३ का विरूद्ध ५ गोलले विजयी भएको छ ।

यस्तै आजै भएको अन्तिम चौथो खेलमा रामनगर टोल विकास संस्था ए विजय भएको छ । रामनगर टोल विकास संस्था ए र बी बीच भएको प्रतिस्पर्धामा रामनगर बी लाई सुन्यका विरुद्ध ५ गोलले पराजित गर्दै रामनगर टोल विकास संस्था ए विजयी भएको हो ।

फुटबल प्रतियोगिता वैशाख ३१ गतेसम्म सञ्चालन हुने संयोजक रानाले जानकारी दिनुभयो । प्रतियोगितामा आठ वटा टोल विकास संस्था सहभागी रहेका छन् । वडा अध्यक्ष राम बहादुर जिसीको अध्यक्षता तथा नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख खड्काले नयाँ पुस्तामा खेलप्रतिको रुचि बढाउन, खेल क्षेत्रको गतिशीलतालाई उँचो राख्न र खेल क्षेत्रमा समग्र तुलसीपुरकै पहिचानका लागि वडा स्तरबाटै खेलकुद प्रतियोगिताहरू आयोजना गर्ने गरिएको जानकारी दिनुभयो। ।

खेलकुद व्यक्तित्व विकाससँगै वडा नगर र राष्ट्रकै पहिचान बोकेको विषय भएकाले अनुशासित र संयमित भएर खेल खेल्न आग्रह गर्नुभयो ।

खेलाडीहरूको व्यक्तित्व विकाससँगै समग्र राष्ट्रकै पहिचान भएकाले खेल क्षेत्रलाई स्थानीय सरकारले महत्वका साथ लिएको बताउनुभयो ।

फुटबल प्रतियोगितामा प्रथम हुने समूहले नगद २० हजार , प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने दोस्रो हुनेले नगद १५ हजार,प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् । तेस्तै तेस्रो हुनेले नगद १० हजारसहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् ।

उद्घाटन कार्यक्रममा धन्यवाद ज्ञापन गर्दे वडा अध्यक्ष राम बहादुर जिसीले खेलकुद क्षेत्रको वृहत्तर विकासका लागि वडाले यो वर्ष वडा अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गरेको जानकारी दिनुभयो ।

भौतिक पूर्वाधार मात्र विकास नभई खेलकुदले सामाजिक स्वास्थ्यमा पनि महत्वपूर्ण योगदान पुर्‍याउने उहाँको भनाइ छ । उद्घाटन कार्यक्रमको सहजीकरण कर्मचारी सन्तोष केसीले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस