२०८३ जेष्ठ १० गते आइतवार

तुलसीपुरमा नवउद्यम प्रबर्द्धन सम्बन्धी एकदिने कार्यशाला


दाङ । दाङको तुलसीपुरमा नवउद्यम
प्रबर्द्धन सम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ । व्यवसाय सुरु गर्न इच्छुक नवउद्यमी तथा व्यवसायमै सक्रिय उद्यमीहरूलाई लक्षित गर्दै कार्यशाला आयोजना गरिएको हो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर र ग्रीन फाउन्डेसन नेपालको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

महासंघका अध्यक्ष लालबहादुर केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्का प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख खड्काले नयाँ बजारको खोजी गर्ने अभ्यासको अभावका कारण अधिकांश व्यवसाय गुजारामुखी अवस्थामा सीमित रहेको बताउनुभयो । “हामीकहाँ जसले जे गर्‍यो, त्यही गर्ने परम्परा छ । बजारको माग एकातिर छ, तर हामी बजारको आवश्यकताअनुसार उत्पादन र व्यवसाय सञ्चालन गर्न सकिरहेका छैनौँ,” उहाँले भन्नुभयो । आन्तरिक तथा बाह्य बजारको विश्लेषण गरेर काम गर्न सके नवप्रवर्तनले सार्थकता पाउने विश्वास व्यक्त गर्दै उहाँले भौगोलिक बनावट अनुसारको उत्पादनलाई प्रतिस्पर्धात्मक बनाउन नवीन योजना आवश्यक रहेको बताउनुभयो ।

विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत पार्धेले धेरैले उद्यमी बन्ने सपना देखे पनि त्यसलाई व्यवहारमा उतार्न ठोस योजना र निरन्तर प्रयासको कमी रहेको बताउनुभयो । “गफ धेरै गर्ने तर काम कम गर्ने प्रवृत्तिको अन्त्य हुन जरुरी छ,” उहाँले भन्नुभयो । स्थानीय सरकारमा भौतिक पूर्वाधारका माग धेरै आउने गरे पनि उद्यमशीलता विकासका कार्यक्रम सञ्चालनका लागि माग गर्न आउने सङ्ख्यात्मक रुपमा कमी देखिएकाले नव
प्रबर्द्धनका विषय ओझेलमा परेको धारणा राख्नुभयो ।

कार्यक्रममा महासंघका अध्यक्ष केसीले विगतदेखि नै नव
प्रबर्द्धन र उद्यमशीलतालाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो । उहाँले स्थानीय सरकारसँग समन्वय गरी उद्यमीहरूलाई प्रेरणा र व्यवहारिक सीप प्रदान गर्ने कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो ।

“उद्यमशीलता केवल व्यवसाय सञ्चालन गर्ने विषय मात्रै होइन, बदलिँदो बजार र प्रविधिसँग आफूलाई समयानुकूल बनाउने प्रक्रिया पनि हो,” अध्यक्ष केसीले भन्नुभयो, “नव
प्रबर्द्धन बिना अहिलेको प्रतिस्पर्धात्मक बजारमा दिगो सफलता हासिल गर्न सकिँदैन । स्थानीय स्रोत, सीप र सम्भावनालाई आधुनिक सोचसँग जोड्न सके युवाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउन सकिन्छ ।”

तुलसीपुर उपमहानगरपालिका भित्रका विभिन्न क्षेत्रका ५० भन्दा बढी उद्यमीहरूको सहभागिता रहेको कार्यशालामा उद्यम विकास सहजकर्ता सुरेश कुमार रावतले ‘उद्यमशीलता र उद्यमी सोचमा नवप्रवर्तन’ विषयमा तथा आइटी अफिसर सविन केसीले ‘नव
प्रबर्द्धन र प्रविधिको प्रयोग’ विषयमा प्रशिक्षण दिनुभएको थियो ।

महासंघका उपाध्यक्ष टिकाजङ ओलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव भद्रबहादुर ओलीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस