२०८३ जेष्ठ १० गते आइतवार

घोराही–माडीचौर १३२ केभी प्रसारण लाइनको ८० प्रतिशत काम सम्पन्न


दाङ । दाङको घोराही–माडीचौर १३२ केभी प्रसारण लाइन आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । रोल्पालगायत पहाडी जिल्लामा विद्युत् विस्तारसँगै त्यहाँ उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यसहित निर्माण सुरु गरिएको आयोजनाको करिब ८० प्रतिशत काम सम्पन्न भएको हो ।

घोराही–माडीचौर १३२ केभी प्रसारण लाइन अन्तर्गत दाङको घोराही उपमहानगरपालिका–३ झिङ्नीदेखि रोल्पाको सुनिल स्मृति गाउँपालिका–२ खुग्रीसम्म करिब ३८ किलोमिटर क्षेत्रमा प्रसारण लाइन निर्माण भइरहेको छ । आयोजनाअन्तर्गत सबस्टेसन तथा विद्युत् टावर निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

प्रसारण लाइनका लागि गाड्नुपर्ने १२१ वटा टावरमध्ये १०१ वटा निर्माण भइसकेका छन् भने अहिले तार तान्ने काम भइरहेको आयोजना प्रमुख बमबहादुर बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी टावर निर्माणको काम पनि छिट्टै अघि बढाइनेछ ।

जङ्गल क्षेत्रबाहेक अधिकांश स्थानमा टावर निर्माण र तार तान्ने काम भइरहेको छ । जङ्गल क्षेत्रमा भने रुख कटान गर्नुपर्ने भएकाले केही ढिलाइ भएको आयोजना प्रमुख बुढाथोकीले बताउनुभयो ।

नेपाल सरकारको ४० प्रतिशत र एसियाली विकास बैंकको ६० प्रतिशत लगानीमा करिब एक अर्ब ५० करोड रुपैयाँ लागतमा आयोजना निर्माण भइरहेको छ । आयोजनाअन्तर्गत रोल्पाको खुग्रीमा सबस्टेसन निर्माणसँगै स्टाफ क्वार्टर, गार्ड हाउस, कन्ट्रोल बिल्डिङलगायतका भौतिक पूर्वाधार निर्माणको काम पनि जारी रहेको छ ।

आर्थिक वर्ष २०८३/८४ सम्ममा सम्पन्न गर्ने लक्ष्यसहित आर्थिक वर्ष २०७८/७९ बाट आयोजना निर्माण सुरु गरिएको हो । आयोजना सम्पन्न भएपछि रोल्पा, रुकुमलगायत ग्रामीण क्षेत्रमा विद्युत् विस्तार हुनुका साथै ती जिल्लामा उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सहज हुने अपेक्षा गरिएको छ ।

जग्गा प्राप्तिमा भएको ढिलाइका कारण निर्माण सुरु हुन केही समय लागेको भए पनि पछिल्लो समय काम तीव्र गतिमा अघि बढिरहेको आयोजना प्रमुख बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार नेपाल विद्युत् प्राधिकरणले घोराही–माडीचौर प्रसारण लाइन निर्माण गरिरहेकै समयमा रोल्पाको माडीचौर हुँदै रुकुमपश्चिमको बाँफीकोटसम्म प्रसारण लाइन विस्तारका लागि सर्वेक्षणको कामसमेत अघि बढाइरहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस