२०८३ जेष्ठ १० गते आइतवार

तुलसीपुरका होटेल र किराना पसलमा छड्के : सरसफाईको कमी, कुनै दर्ताबिनै संचालनमा


दाङ ।
बजारमा हुने अखाद्य वस्तुको बिक्रि वितरण र कालोबजारी रोक्न बुधबार तुलसीपुरका होटेल र किराना पसलमा छड्के अनुगमन गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरको टोलीले बजारका होटल र किराना पसलमा छड्के अनुगमन गरेको हो ।

अनुगमनका क्रममा दर्ता बिनै व्यवसाय संचालन गरेको, होटेलमा सरसफाईको कमी, मूल्यसूचि नराखिएको, व्यवसाय एक ठाउँमा दर्ता गरेर दुई ठाउँबाट संचालन गरेको भेटिएको छ ।

यस्तै खाद्य अनुमति नलिएको गोर्खा कालिका अमिलो समेत फेला परेपछि तत्काल फिर्ता पठाउन निर्देशन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख पदम बरालले खाद्य अनुमति नलिएको हुँदा गोर्खा कालिका अमिलो तत्काल फिर्ता पठाउन निर्देशन दिएको बताउनुभयो ।

तुलसीपरका जेसिज चोकस्थित ढकाल स्टोरमा फेला परेको गोर्खा कालिका अमिलोलाई अहिले बिक्रिमा प्रतिबन्ध लगाएको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा प्रमुख राजु श्रेष्ठको नेतृत्वमा गएको अनुगमन टोलिले ‘क’ लाइन, ‘ख’ लाइन र बाहिनी चोक आसपासका किराना, गल्ला र होटलमा अनुगमन गरेको हो ।

अनुगमन टोलीले बाहिनी ‘ख’ लाइनमा रहेको शिब ट्रेडिङलाई चामल सहिरुपमा व्यवस्थापन गर्न सुझाव दिएको छ । यस्तै सरस्वती राइस मिललाई उपमहानगरपालिका दर्ता गर्न पनि अनुगमन टोलीले निर्देशन दिएको छ ।

यस्तै अनुगमनको क्रममा सिद्धार्थ भेट डिपि व्युटिसर्स प्रालि एक ठाउँबाट दर्ता भएर दुई ठाउँमा संचालन भएको भेटिएपछि तीन दिनभित्र दर्ता प्रक्रियामा आउन निर्देशन दिएको छ । अनुगमन टोलीले विभिन्न ११ वटा व्यवसायको अनुगमन गरेको हो ।

अनुगमन टोलीमा नगरका उपभोक्ता हित संरक्षण शाखा प्रमुख राजु श्रेष्ठ, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख पदम बराल, सूचना अधिकारी सुदर्शन गोसाँई, उपभोक्ता हित संरक्षण शाखाका अधिकृत तुलाराम केसी, वरिष्ठ सहायक खेमकान्त पाण्डे, नगर प्रहरी ऋषिराज पछाई, मंगल चौधरी लगायतका रहनुभएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस