दाङ । नयाँ सरकार गठनसँगै दाङको टरिगाउँ विमानस्थल विस्तार र स्तरोन्नति हुने अपेक्षामा रहेका दाङवासी यस वर्षको बजेटबाट पनि निराश बनेका छन् ।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विमानस्थल स्तरोन्नति गर्ने घोषणा गरे पनि ठोस बजेट विनियोजन नगर्दा स्थानीयले योजना कार्यान्वयनप्रति आशंका व्यक्त गरेका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्दै दाङको टरिगाउँ विमानस्थल स्तरोन्नतिका लागि योजना अघि बढाइने बताउनुभयो ।
अंकमा बजेट बिनियोजन नहुँदा विमानस्थल निर्माण हुने दाङवासी आशंका गरेका छन् । वि.सं. २०११ सालमा स्थापना भएको टरिगाउँ विमानस्थल लामो समयदेखि आवश्यक स्तरोन्नति हुन नसक्दा प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । धावनमार्ग विस्तार, पूर्वाधार सुधार तथा नियमित उडान व्यवस्थापनमा पर्याप्त सरकारी चासो नपुग्दा दाङवासीले सहज हवाई सेवा पाउन सकेका छैनन् ।
दाङमा नियमित र भरपर्दो हवाई सेवा नहुँदा यहाँका नागरिक नेपालगञ्ज र भैरहवा पुगेर हवाई यात्रा गर्न बाध्य छन् । यसले यात्रुहरूको समय र खर्च दुवै बढाएको स्थानीयको गुनासो छ ।
विमानस्थल विस्तार र स्तरोन्नतिको माग लामो समयदेखि उठ्दै आए पनि सरकारले अपेक्षाअनुसार प्राथमिकता नदिएको भन्दै स्थानीयले असन्तुष्टि जनाउँदै आएका छन् ।
















