तुलसीपुर । महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने उद्देश्यले तुलसीपुरमा ७ दिने चप्पल बनाउने तालिम सुरु गरिएको छ ।
मातृभूमि सिकाई केन्द्र, तुलसीपुर–७ दाङको आयोजनामा तुलसीपुर–७ खर्चवामा आइतबारदेखि तालिम सञ्चालन गरिएको हो । संस्थाका अध्यक्ष निमकान्त उपाध्यायको अध्यक्षता तथा वडा नम्बर ७ का अध्यक्ष रामबहादुर जिसीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष जिसीले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । एउटै व्यक्तिले विभिन्न प्रकारका तालिम लिने तर त्यसलाई व्यवहारमा लागू नगर्दा जीवन उपयोगी बन्न नसक्ने उल्लेख गर्दै उहाँले सिकेको सीपलाई उद्यम र आम्दानीसँग जोडेर आर्थिक रूपमा आत्मनिर्भर बन्न आग्रह गर्नुभयो । साथै, महिलाहरूको आर्थिक सशक्तीकरणका लागि स्थानीय सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको पनि उहाँले बताउनुभयो ।

तालिमका प्रशिक्षक टिकाकुमारी पौडेलले सात दिनको अवधिमा महिलाहरूलाई विभिन्न डिजाइनका लेडिज चप्पल बनाउन सिकाइने जानकारी दिनुभयो । महिलाहरू घरायसी काममा मात्र सीमित नभई सीप सिकेर आत्मनिर्भरताको बाटोमा अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
संस्थाका उपाध्यक्ष नारायणकुमार आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार बसन्त पौडेलले गर्नुभएको थियो । आगामी शनिबारसम्म सञ्चालन हुने तालिममा वडा नं. ७ का १७ जना महिलाहरूको सहभागिता रहेको संस्थाकी परिचालिका ताराकुमारी वलीले जानकारी दिनुभयो ।
















