दाङ । दाङमा सुनजस्तो देखिने पहेँलो धातुसहित दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा राप्ती गाउँपालिका–९ सुनपतरी नाका बस्ने ४० वर्षीय रुपलाल गिरी र रुकुम बाँफिकोट गाउँपालिका–६ का २२ वर्षीय दिलिप परियार रहेका छन् ।
गिरीले भारतबाट सुनजस्तो धातु नेपाल ल्याएको र परियार उक्त धातु खरिद गर्ने व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभयो ।
प्रहरीले उनीहरूको साथबाट २१४.५०० ग्राम तौलको सुनजस्तो देखिने पहेँलो धातु बरामद गरेको जनाएको छ । उक्त धातुको हालको बजार मूल्य करिब ५२ लाख ७४ हजार रुपैयाँ बराबर रहेको अनुमान गरिएको छ ।
उनिहरुलाई लमही नगरपालिका–९ अमिलियास्थित एक होटलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित पक्राउ गरेको प्रहरी नायव उपरिक्षक केसीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सुनको अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले नमस्ते होटलको कोठामा खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा भारतबाट नेपाल ल्याइएको भनिएको सुनजस्तो देखिने पहेँलो धातु बरामद गरेको हो । बरामद धातु र पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।



















