दाङ । आज लुम्बिनीसहित सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन् ।
प्रदेशहरूले केन्द्र सरकार जस्तै सुशासन, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार जस्ता विषयलाई प्राथमिकता दिएर नयाँ बजेट तयार पारेका छन् । संघीय सरकारले १५ जेठमा बजेट सार्वजनिक गरेसँगै त्यसमा आधारित भई प्रदेश सरकारहरूले आफ्नो बजेट तयारी गर्छन् ।
केन्द्र सरकारको बजेटलाई आधार बनाएर तयार पारिएको प्रदेश बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, सुशासन, रोजगारी सिर्जना तथा सामाजिक न्यायलाई प्राथमिकतामा राखिएको छ भने लुम्बिनी प्रदेशले करिब ३८ अर्ब रुपैयाँ बराबरको बजेट प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरेको छ ।
लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन अन्तर्गत नवौँ बैठकमा बेलुका ५ बजे आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेट पेस गर्नुहुने छ । प्रदेश सरकारले सीमित स्रोतसाधन, बढ्दो दायित्व तथा विकास निर्माणका अपुरा कामलाई मध्यनजर गर्दै दायित्व भुक्तानी, प्रदेश गौरवका आयोजना, बहुवर्षीय तथा क्रमागत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेट प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ ।
आगामी बजेट उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास, सुशासन तथा सामाजिक न्याय केन्द्रित हुने सरकारको तयारी छ । चालु आर्थिक वर्ष २०८२र८३ का लागि प्रदेश सरकारले ३८ अर्ब ९१ करोडको बजेट ल्याएको थियो । उक्त बजेटमध्ये २३ अर्ब ४७ करोड पुँजीगत तथा १५ अर्ब ४३ करोड चालु खर्चतर्फ विनियोजन गरिएको थियो ।
यसपटक प्रदेश सरकारले ३८ अर्बको हाराहारीमा सरकारले बजेट ल्याउने तयारी गरेको जनाइएको छ ।



















