२०८३ असार १० गते बुधवार

तुलसीपुरको नयाँ कार्यक्रम,गर्भजाँचमा जाँदा एक क्यारेट अण्डा निःशुल्क


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले गर्भवती महिलाको पोषण अवस्थालाई सुधार गर्न सरकारी स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गराउन आउने आमाहरूलाई आगामि आर्थिक वर्षबाट लागु हुने गरी हरेक पटकको गर्भ जाँचमा एक क्यारेट अण्डा उपलब्ध गराउने भएको छ।

उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै उपमेयर स्यानी चौधरीले गर्भवती महिलालाई पोषणयुक्त आहार सुनिश्चित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।

घोषित कार्यक्रमअनुसार पालिकाभित्रका हरेक वडाका गर्भवती महिलाले सरकारी स्वास्थ्य संस्थामा गर्भजाँच गराउन जाँदा प्रत्येक पटक निःशुल्क रूपमा एक क्यारेट अण्डा प्राप्त गर्नेछन्। नियमित स्वास्थ्य परीक्षणमा सहभागिता बढाउनुका साथै आमा र गर्भस्थ शिशुको स्वास्थ्य सुधारमा टेवा पुर्‍याउने लक्ष्यसहित कार्यक्रम ल्याइएको उपमहानगरपालिकाले जनाएको छ।

कार्यक्रम कार्यान्वयनका लागि आगामी आर्थिक वर्षमा ८५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। उपमहानगरपालिकाले यो कार्यक्रमले गर्भवती महिलामा पोषणको पहुँच बढ्नुका साथै सुरक्षित मातृत्व अभियानलाई थप प्रभावकारी बनाउन कार्यक्रम सञ्चालनमा ल्याउन लागेको जनाएको छ ।

तस्बिर : Ai

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस