दाङ । दाङको तुलसीपुरमा उद्यमी र व्यवसायीहरूको क्षमता बढाउन तथा नेतृत्व विकासका लागि तालिम प्रदान गरिएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजना, तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोग, ग्रीन फाउण्डेशन नेपाल र रुकमेली महिला संजाल तुलसीपुरको सहकार्यमा तालिम सञ्चालन गरिएको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लाल बहादुर केसीको अध्यक्षता तथा नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा तालिम संचालन भएको हो ।
तालिममा उद्यम व्यवसाय गरिरहेका र नयाँ सुरु गर्न चाहने गरी ५९ जना व्यवसायीहरूको सहभागिता रहेको थियो । तालिममा सहभागी ६ वर्षदेखि ढुवानी सेवा चलाउँदै आउनुभएका वीरेन्द्र कठायतले उद्यममा सफलता पाउन व्यावसायिक नीति मात्र नभएर नेतृत्व क्षमता र उचित जनशक्ति परिचालनको तरिका पनि जान्न जरुरी रहेको बताउनुभयो ।
त्यस्तै, १३ वर्षदेखि ग्रिल उद्योग चलाउँदै आउनुभएका जगबहादुर वलीले विषय विज्ञहरूबाट पाइने यस्ता तालिमले विश्व बजार र स्थानीय बजारको पछिल्लो अवस्थाबारे नयाँ जानकारी लिन मद्दत पुग्ने उल्लेख गर्नुभयो ।
यसैगरी, बिमा कम्पनीमा कार्यरत पुष्पा खड्काले उद्यमका लागि पुँजी नै सबैभन्दा ठुलो कुरा हो भन्ने भ्रम तालिमबाट हटेको बताउनुभयो ।
तालिमको प्रशिक्षमा ग्रिन फाउण्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डे, हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका सिइओ जनक भण्डारी र रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल रहनुभएको थियो ।
कार्यक्रमको सहजीकरण महासचिव भद्र बहादुर वलीले गर्नुभएको हो ।

















