२०८३ साउन २९ गते शुक्रवार

युवतीलाई खुकुरी देखाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि युवक पक्राउ


दाङ। युवतीलाई खुकुरी देखाई कुटपिट गरेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएपछि एक युवक पक्राउ परेका छन् । प्रहरीले तुलसीपुर उपमहानगरपालिका–२ भमके निवासी २४ वर्षीय रमेश ठाडा मगरलाई पक्राउ गरेको हो ।

पक्राउ परेका ठाडा मगरले एक युवतीलाई जंगलमा लगी खुकुरी देखाई डरधम्कीसहित कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भिडियोको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले उनलाई उनकै घरबाटै पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट विभिन्न प्रकारका लागुऔषध समेत बरामद गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीले उनको साथबाट प्रतिबन्धित औषधि रेगाम्याक्स १ ट्याब्लेट, ट्रोमो ४१ ट्याब्लेट, एन्टिकोप २ ट्याब्लेट र नाइट्राजोहम ५ ट्याब्लेट बरामद गरेको छ ।

यस्तै घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय जिबराज खत्रीलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । पीडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस