२०८३ असार १० गते बुधवार

असार १० अघि नै दाङका तीन पालिकाको बजेट सार्वजनिक, अन्यले आज ल्याउँदैछन् बजेट

दाङ । स्थानीय सरकारहरूले आगामी आर्थिक वर्षको बजेट असार १० गतेभित्र ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । तर, दाङका तीन पालिकाले असार १० अगावै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र लमही नगरपालिकाले नगर सभामार्फत ‘डेडलाइन’ अघि नै आ–आफ्नो बजेट प्रस्तुत गरेका हुन् । तुलसीपुर र घोराही उपमहानगरपालिकाले सोमबार आगामी वर्षको बजेट ल्याएका हुन् भने लमही नगरपालिकाले मंगलबार ल्याएको हो । लमही नगरपालिकाले ९८ करोड १३ लाख ३७ हजार ४५४ बराबरको बजेट प्रस्तुत गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाको बजेट झण्डै साढे दुई अर्बको छ । तुलसीपुरले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २ अर्ब ४४ करोड ९५ लाख ९१ हजार रुपैयाँ बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ ।

घोराही उपमहानगरपालिकाले २ अर्ब ३७ करोड ९५ लाख २२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । घोराही उपमहानगरले वडा तहमा समेत उल्लेख्य बजेट विनियोजन गर्दै १९ वटै वडा कार्यालयमार्फत पूर्वाधार तथा सामाजिक विकासका लागि कुल ९ करोड ५० लाख रुपैयाँ छुट्याएको छ ।

दाङका तीन पालिकाले समय अगावै बजेट ल्याए पनि जिल्लाका बाँकी ७ गाउँपालिकाले भने कानुनी व्यवस्था बमोजिम आज आ–आफ्नो गाउँसभामा बजेट पेस गर्ने अन्तिम तयारी गरेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस