२०८३ साउन १० गते आइतवार

दलित महिलाहरूका लागि सर्फ बनाउने आधारभूत तालिम


दाङ । दंगीशरण गाउँपालिका वडा नं. २ मा दलित सशक्तीकरण कार्यक्रम अन्तर्गत सञ्चालित तीनदिने सर्फ (लुगा धुने पाउडर) बनाउने आधारभूत तालिम संचालन गरिएको छ ।

दंगीशरण गाउँपालिका–२ नं. वडा कार्यालयको आयोजना, दंगीशरण गाउँपालिकाको सहयोग तथा हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहजीकरणमा उक्त तालिम सञ्चालन गरिएको हो ।

गत असार १२ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको उक्त तालिमको समापन कार्यक्रम वडा सदस्य अञ्जना विकको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्का प्रमुख आतिथ्यता एवं वडा अध्यक्ष डम्बर खत्री विशिष्ट आतिथ्यतामा भएको हो ।

समापन समारोहमा बोल्दै दलित एकता सञ्जालका अध्यक्ष मानबहादुर परियार, हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष राजेन्द्र घर्ती तथा प्रशिक्षक विन्दु रोका मगरले तालिमको महत्व र यसको दिगोपनबारे आफ्ना धारणा राख्नुभएको हो ।

उहाँहरूले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्दै व्यावसायिक बन्न सहभागीहरूलाई आग्रह गर्नुभयो । तालिममा वडा नं. २ का विभिन्न टोलहरूबाट प्रतिनिधित्व हुने गरी कुल २५ जना दलित महिलाहरूको सहभागिता रहेको थियो ।

तालिम समापनका अवसरमा सहभागी महिलाहरूले सिकेको सीपलाई व्यवहारमा लागू गर्दै सर्फ उत्पादन, स्वरोजगार एवं व्यवसायमा आबद्ध हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तालिमले स्थानीय दलित महिलाहरूको सीप विकास, आत्मनिर्भरता तथा आयआर्जनका अवसर सिर्जना गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको आयोजकले जनाएको छ । समापन कार्यक्रमको सहजीकरण चक्र मिलन विकले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस